सिलगढी। सिलगढी महकुमा परिषद चुनाउको नामाङ्कन पत्र बुझाउने आज अन्तिम दिन थियो। आज भाजपाका ९ जना उम्मेद्वारहरूले आ-आफ्नो नामाङ्कन पत्र बुझाए। यसै महीनाको २६ तारिख सिलगढी महकुमा परिषद चुनाउ सम्पन्न हुनेछ । यसैले भाजपाले हिजो नै सोशल मिडियाको माध्यमद्वारा प्रार्थीहरूको सूची प्रकाशित गरेको थियो। भाजपाको तर्फबाट जारी गरिएको प्रार्थीहरूको सूचीमा नक्सलबारी महकुमाबाट दिलीप बारूई, रेखा सिंघा, मतिगढाबाट सुनिता उराउँ, मप्पी दास, खोरीबारीबाट अजय उराउँ, उत्तम सिंघा, फाँसीदेवाबाट रेणु यादव, प्राण गोरन्गो देबनाथ र राधिका टुडु सामेल छन्। भाजपाका यी ९ जना प्रार्थीहरूले आज आ-आफ्नो नामाङ्कन पत्र बुझाए। यस अवधि मतिगढा-नक्सलबारीका विधायक एवम् भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष आनदमय बर्मन पनि उपस्थित थिए।










