नाम्ची: २० जनवरीका दिन नाम्ची जिल्ला अन्तर्गत याङगाङमा खुल्ला भलिबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भयो। पियोरल्याण्ड इन्टरनेशनल एकाडमीले यसको आयोजना गरेको थियो। यस प्रतियोगितामा याङगाङ गर्ल्सले पियोरल्याण्ड इन्टरनेशनल एकाडमीलाई पराजित गरेको छ।यसरी प्रतियोगिताको आयोजना गर्नुको मुख्य उद्देश्य नारीहरूलाई खेलप्रति आकर्षित गर्न रहेको बताइएको छ।उल्लेखनीय छ, गत १६ जनवरीदेखि शुरू भएको यस प्रतियोगितामा आठवटा दलले सहभागिता जनाएको थियो।समापन कार्यक्रममा निर्वाचन क्षेत्रका विधायक तथा उर्जा एवं विद्युत विभागका सल्लाहकार पिञ्चो नामग्याल लेप्चा मुख्य अतिथि रहेका थिए। कार्यक्रममा क्षेत्र विधायक राजकुमारी थापा, एसकेएम पार्टीका उपाध्यक्ष आरके बस्नेत, महकुमा अधिकारी मिलन राई, पियोरल्याण्ड इन्टरनेशनल एकाडमीका प्राचार्य पुश्पराज ढुङ्गेल, खण्ड विकास अधिकारी टीटी भोटिया, स्थानीय पञ्चायतगण आदिको उपस्थिति रहेको थियो। यस प्रतियोगितालाई सफल बनाउन सहयोग प्रदान गरेकोमा आयोजक समितिले मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णकुमारी राईलाई धन्यवाद दिएको छ।