कालचिनी: कालचिनी खण्डको भारत-भोटाङ सीमान्त शहर जयगाउँस्थित जेडीए कार्यालयमा आज अलिपुरद्वार जिल्ला पुलिसको पहलमा निःशुल्क कोचिङ सेन्टरको उद्घाटन अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशी र जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्माको बाहुलीबाट फित्ता काटेर गरियो। अलिपुरद्वार जिल्ला पुलिसको तत्परतामा धेरै गाउँ बस्तीका विद्यार्थीहरुको निम्ति क्यारियर गाइडेन्स सहित प्रतियोगितात्मक परीक्षाको निम्ति निःशुल्क कोचिङ सेन्टर उपलब्ध गराईरहेको क्रममा आज जेडीएद्वारा प्रदत हलमा कोचिङ सेन्टरको उद्घाटन गरिएको थियो।
उक्त अवसरमा अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीलगायत जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्मा, जयगाउँ एसडीपीओ एलटी भोटिया, एएसपी कुन्तल ब्यानर्जी, जयगाउँ थाना प्रभारी प्रबीर दत्ता एवम् अन्यान्यको उपस्थिति रहेको थियो। आज यसै अवसरमा नै जयगाउँबाट कलकत्ता रेनबो क्लबको निम्ति छनौट भएका दुईजना युवती पूर्णिमा तामाङ र शर्मिला सारु मगरलाई सम्मानित गरिएको थियो भने जयगाउँबाट चोरी भएको ४ वटा मोबाइल ह्यान्डसेट पनि मोबाइल हराएकोहरुलाई प्रदान गरिएको थियो। पुलिसद्वारा आउँदो भविष्यमा युवा युवतीहरुले राम्रो अङ्कमा कम्पिटेटीभ परीक्षाहरु पास गर्न सकोस भन्ने उद्देश्यले निःशुल्क कोचिङ सेन्टरहरु सञ्चालन गर्दै आईरहेको जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले जनाएका छन्। यता फूटबल कोचिङको लागि भूलनमोड़ क्षेत्रमा मैदान उपलब्ध गराईएको र यसले प्रजन्मको असल भविष्य साकार हुने जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्माले जनाएका छन।








