दार्जीलिङ: गोर्खाल्याण्ड चाहाने समुहको शक्तिलाई अब कुनै शक्तिले रोक्न नसक्ने हाम्रो पार्टीको केन्द्रीय वरिष्ठ कार्यकर्ता लाडुप घिसिङले बताएका छन्। हाम्रो पार्टी केन्द्रीय कमिटिको सभा आज पार्टी अध्यक्ष अजय एडवार्डको अध्यक्षतामा सम्पन्न भयो। तीन घण्टाभन्दा लामो समयसम्म चलेको बैठकपछि पार्टी केन्द्रीय कार्यकर्ता लाडुप घिसिङले गोर्खाल्याण्ड चाहानेहरूको समुह बन्दै जाँदैछ अनि गोर्खाल्याण्ड चाहाने समुहको शक्तिलाई अब कुनै शक्तिले रोक्न नसक्ने उनले बताए। उनले अघि भने, “अहिले अन्य राज्यहरूको गठन लिएर जस्तो प्रकारको पहलहरू भई रहेको छ, त्यसमाथि हाम्रो पार्टीले नजर राख्ने कामहरू गर्दै आईरहेको छ। विगत केही दिनदेखि हामीले गोर्खाल्याण्ड चाहानेहरूलाई एकबद्व बनाउने कामहरू गर्दै आई रहेका छौं।हाम्रो यो प्रयासलाई कतिपय राजनीतिक दलको नेतृत्वहरूले विभिन्न प्रकारको आरोप र लाञ्छनाहरू लगाउने कार्यहरू पनि गरयो तर हामी हाम्रो कार्यमा धेरै हदसम्म सफल भएका छौं। वर्तमान स्थितिमा केएलओको नेतृत्वहरूसंग केन्द्र सरकार वार्ता गर्न तयार भएको छ अनि उनीहरू आफ्नो पक्षमा केही राम्रो कुरा आउँछ भन्ने आशावादी रहेको छ। केएलओले १६ वटा जिल्लाहरूलाई लिएर कामतापूर राज्य गठनको मांग गर्दै आईरहेको छ अनि ती १६ वटा जिल्लाहरूमा बंगाल, बिहार अनि असमको जिल्लाहरू रहेको छ। त्यसरी नै नागाल्याण्ड राज्यमा पनि ६ वटा जिल्लाहरूलाई लिएर राज्य गठनको मांग चलिरहेको छ। अन्य राज्यको मांग गर्नेहरूले जस्तै हामीले पनि छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मांग लिएर कार्यहरू गर्दै आई रहेका छौं।” घिसिङले अझ भने, “कामतापूर राज्य हुन्छ भन्ने हाम्रो पार्टीको कुनै आपत्ति छैन। त्यसरी नै नागाल्याण्ड राज्यलाई टुक्राएर अर्को राज्य हुन्छ भने त्यसमा पनि हाम्रो कुनै आपत्ति छैन तर सन्घीले काटिएको भूभाग दार्जीलिङ तराई डुवर्स मिलाएर छुट्टै राज्य गोर्खाल्याण्डको गठन गरिनुपर्छ। जसरी भारतलाई अंग्रेजहरूले खोक्रो बनाएर छोडेर गए त्यसरी नै बंगालले पनि अब दार्जीलिङलाई छोड्न पर्छ। भारतीय जनता पार्टीलाई हामीले जति समय दिएका छौं, त्यसको फल पाउनुपर्छ, देशको प्रधानमंत्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भनेका थिए अब त्यो सपनालाई विपनामा परिणत गर्ने समय आएको छ, हामी सपनामा होइन विपनामा बाँच्न चाहान्छौं।”
लाडुप घिसिङले आरोप लगाउँदै भने, “बंगालसँग मिलेर जीटीएमा नै हामी बस्न चाहान्छौं भन्ने एउटा दलले चुनावमा मतदान पेटी नै हाइज्याक गरेर सत्तामा आउने काम गरेको छ। राज्यको तृणमूल सरकारले पहाडमा तृणमूल कंग्रेस फैलाउने कोशिष गरेकै हो तर पहाडवासीले तृणमूल कंग्रेसलाई अस्वीकार गर्दा अनित थापालाई जन्माएर यो भूभागलाई सधैभरि बंगालमा नै राखौं भन्ने सोच बनाएको छ। हाम्रो सिलगढी कोलकताबाट कम छैन तर हाम्रै मान्छेहरूलाई प्रयोग गरेर हाम्रो लक्ष्यलाई विफल बनाउने प्रयासहरू गरिरहेको छ तर हामी हाम्रो लक्ष्यमा केही हदसम्म सफल भएका छौं।”