सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको टुंग सन्त मेरिज जोनल कमिटी श्रमिक भवनको पक्षमा रहेको जानकारी प्राप्त भएको छ। टुंग सन्त मेरिज समष्टि जोनल कमिटीको पक्षमा सभापति बसन कुलुङ राई र मुकन्दर बम्जनले एक प्रेस विज्ञप्ति जारी गरी श्रमिक भवनको पक्षमा रहेको बताएका छन्। दुवैले प्रेस विज्ञप्तिमा भनेका छन् – “कोरोनाकालमा तत्कालीन जीटीए चेयरम्यान अनित थापाले लकडाउन अवधि जीटीए रिलिफ फण्डद्वारा विभिन्न क्षेत्र, व्यक्ति एंव संस्थाहरूबाट आर्थिक सहयोग गरिदिने निवेदन गरेवापत प्राप्त अर्थ संग्रहले श्रमिकहरुको हितार्थ कल्याणकारी कार्य गर्ने सोच राखेर संग्रहित राशिले चिया बगान श्रमिकहरुको निम्ति भविष्यमा दुःख बिमार भएको खण्डमा सिलगढीमा कुनै असुविधाको सम्मुखीन हुन नपरोस् भन्न खातिर जीटीएले श्रमिक भवन निर्माण गरेर श्रमिकहरुलाई सौगातको रूपमा प्रदान गर्ने तयारी गरिरहेको छ। भागोप्रमोको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियन जीटीएले दूरदर्शी सोंच राखेर श्रमिक भवन निर्माण गर्ने पहल गरिरहेको निर्णयले निश्चयै नै चिया बगान श्रमिकहरुले उक्त निर्माण हुनगईरहेको श्रमिक भवनले लाभ पुर्याउने छ भन्ने टुंग सन्त जोनल कमिटिलाई लाग्दछ।”
दुवैले टुंग सन्त मेरिज जोनल कमिटीको पक्षबाट जीटीएको यस महत् कार्यप्रति सम्पूर्ण श्रमिक/मजदूर लगायत अन्य दलका श्रमिक संगठनहरूले राजनैतिक चश्माले नहेरेर श्रमिकहरूको हित र सुविधाको निम्ति नै निर्माण गर्ने पहल रहेको यस निर्माण विषय सबै श्रमिक एंव श्रमिक संगठनहरूले सहयोग दिएर यस महत् कार्यलाई सहयोग गरिदिने निवेदन टुङ्ग/सन्त मेरिज जोनल कमिटिका सभापति बसन कुलुङ राई र मुकन्दर बम्जनले एक विज्ञप्तिमार्फत दिएका छन्।