नेपाली चलचित्र ‘सिड्नी’ निर्माण हुने तयारीमा  

काठमाडौं: नेपाली विद्यार्थीहरुको सपनाको देश अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ। देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार राजधानीमा कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो। आउँदो वैशाखलाई छेक परेर छायांकन शुरु हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी बाँधिनेछ। ओमाईगडइन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ। छायांकनमा निस्कनुअघि फिल्मका लागि अन्य कलाकार छनोट गरिने निर्देशक श्रेष्ठले जानकारी दिए। फिल्मले नेपालदेखि अष्ट्रेलियासम्मको कथा बोल्नेछ। मुलतः फिल्म अष्ट्रेलिया पुगेपछि नेपालीले गर्नेपर्ने संघर्षको कथामाथि निर्माण हुनेछ।

अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन्। युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायांकन गर्नेछन्। फिल्मको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे छन्। एक्सन तथा थ्रिलरजनरामा निर्माण हुने फिल्म स्तरीय बन्नेमा प्रस्तुतकर्ता रसाइली विश्वस्त देखिए। फिल्मको कथावस्तु राम्रो रहेको उनको दाबी छ। कार्यक्रममा सविनले आफू एक्सन भूमिकामा देखिने संकेत गरे। उनले भने, ‘हुन त मैले यसअघि पनि धेरै एक्सन फिल्म गरेको छु। तर, यसपटक केही फरक देख्न पाइनेछ। मैले निर्वाह गर्ने भूमिका पनि पृथक लाग्नसक्छ।’ त्यस्तै, रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन्। सविनसँग पहिलो पटक फिल्ममा स्क्रिन शेयर गर्न उनी उत्साहित देखिएकी छन्।

About Author

Advertisement