खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा कालेबुङको युनाइटेड ब्रदर्स सेमिफाइनलमा पुग्यो। खरसाङ नजिक चानमारी खेल मैदानमा आज भएको म्याचमा युनाइटेड ब्रदर्सले युनाइटेड दिलाराम फूटबल क्लब (यूडीएफसी)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल प्रवीण सुब्बाले अतिरिक्त समयको खेलमा छिराए। नियमित ९० मिनटको खेलमा दुवै टीमले गोल गर्न सकेन। यूडीएफसी-का पुजन उपरकोटीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिस र आमुक्त परिवारबीच भिड़न्त हुनेछ। खेलकुद एवम् युवा मामिला विभाग (जीटीए)-को सहयोगमा भइरहेको यस प्रतिष्ठित टुर्नामेण्टमा १२ वटा नामी-दामी टीमहरूलाई स्थान दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ३० जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।