(लघुकथा)   सीप

00-Kitchen-Skilled-1-1

आज मिनुको मन धेरै हौसिएको छ। के हुने हो! कस्तो भयो होला! उसलाई जान्न खटपटी भइरहेको छ। आखिर उसले कति मिहिनेत गरेकी छे शिवप्रसादलाई खुशी पार्न। शिवुलाई नास्ता गराएर कार्यालय पठाएपछि मिनुको व्यस्तता अझै बढ्छ। बिहानै बजार जान्छे र शिवुले मनपर्ने चिज ल्याउँछे। अनि राम्रोसँग धोइपखाली गरी एकचित्त भई थाल्छे पकाउन। आखिर उसले कहीँ सुनेकी थिई- ‘पतिलाई खुशी पार्न छ भने खाना मिठो बनाउन जान्नुपर्छ।’ हो! उसलाई पुरै थाहा छ।

तर जसको बचपन दुधभात खाएर बित्यो,  तातोतातो भात खानेतेलसँग हतारहतार खाएर स्कूल दगुर्दै बाल्यकालका दिनहरू बित्ये। जसको जिब्रोले स्वादिलो खाना के हो जान्न पाएन, त्यसले कसरी जानोस् स्वादिलो खाना बनाउन! तापनि मिनुको भरपुर प्रयास छ आज खाना मिठो-स्वादिष्ठ पार्ने। पल्लो क्वाटरकी काकीसँगबाट धेरै कुरा सिकेर पनि आई। आज पुरै समर्पित गरेकी छ आफ्नो मन-चित्त खाना बनाउनमा। मरमसला सबै हालेपछि उसलाई शिवुले भनेको कुरा सम्झना आउँछ-

‘मिनु! खाना बनाउने पनि एउटा कला हो। एउटा सीप हो।’

‘यो कला भनेको के हो नि?’ मिनुको सोझो मनले शिबुलाई प्रश्न गर्छ।

‘कुनै पनि काम राम्रोसँग गर्ने सीप अथवा कौशललाई कला भन्छन्। उदाहरणको निम्ति तँ राम्रो गीत गाउछेस्, दुरुस्त अल्का जस्तै होइन! तर हुबहु अल्काको जस्तै नकल नगरेर आफ्नो केही ट्यालेन्ट मिसाउनु नै शिल्प हो। तेरो गीत गाउने एउटा कला हो। तँ धेरै राम्रो गीत गाउछेस्, किनकि त्यो काम तँलाई मनपर्छ। खाना बनाउन पनि सिक्न सक्छेस्, यदि तैँले इच्छा गरिस् भने। तर त्योभन्दा पहिले तैँले खाना बनाउने कामलाई हृदयदेखि मन पराउनुपर्छ।’

मिनुले सम्झी शिवुले दुरुस्त अर्कालाई अनुकरण नगरी आफ्नो पनि केही कौशल त्यहाँ ढाल्नु, कामलाई मनपराउनु, लगनशील हुनु भनेर भनेको कुरा। सबैथोक पाकेपछि उसले आफ्नो तरिकाले माछाको तरकारीमा चट्ट अलिकति चिनी मिसाई अनि मासुमा अलिकति अमिलो हाली। पाचन राम्रो हुन्छ भनेर। सबै काम सिद्धाएपछि बाहिर झुन्डिएको भित्ते घडीतिर हेर्छे,  एकबजेको मात्रै छ। शिवुको आउन अझै आधाघन्टा छ। मुखहात धोएर ऐनाअघि बसेर केश कोर्दे गाना गाउनमा मग्न हुन्छे नयाँ अल्काको गीत…..” दिल लगा लिया मैंने…..”

एक्कासि स्कुटरको (नर्मदा) आवाजले ऊ झस्कन पुग्छे। आज उसको उत्कण्ठाको सीमा रहेन, हरातहतार थाल ठिक्क पार्छे।

‘सुगन्ध त धेरै राम्रो आएको छ! के बनाएकी छस्?’

‘तपाईं आएर खान बसे पो थाहा पाउनुहुन्छ।’

एक बटुको मासु, अर्कोतिर माछाको झोल सारै राम्रोसँग सजाएर शिवुको अघि सार्छे। शिवु पनि हतार हतार हातगोडा धोएर खान बस्छ। दुई गाँस खानेबित्तिकै शिवुको अनुहार खुम्चिन्छ।

शिवुको विकृत अनुहार देखेर उसलाई बुझ्न बाँकी रहेन खाना कस्तो भयो। खल्ल पानी हालेर शिवु भातको थाल छोडेर हिँड्छ। मिनुका गहभरि आँसु झर्छन्। शिवु केही नबोली फेरि कार्यालयतर्फ लाग्छ। बाटाभरि  उसले मिनुको कुरा सोच्छ…..’धत! खाना बनाउन जानिन भन्दै त्यसरी भातको थालमा पानी हाल्नु हो मैले! उमेर पनि त त्यति भएको छैन उसको, पी.यू. मात्रै पुगेकी थिई मैले राम्री देखेर बिहे गरेँ। गरिब हुनाले र पढाउने सामर्थ नभएकोले उसका आमाबुबा पनि दिइहाले! अझै पढ्ने रहर छ उसलाई। तर आफ्ना इच्छा सबै दबाएर राखेकी छ। म भोलि नै एउटा सङ्गीत स्कूलमा कुरा गर्छु र नाम दर्ता गरिदिन्छु। खाना-साना हुँदै गर्छ। म आफै पनि पकाउछु सक्छु।’

यता मिनु आफैलाई धिकार्छे….’छि: एउटा मात्रै काम छ मेरो, त्यो पनि हुँदैन राम्रोसँग, यसरी हुँदैन, अब म राम्रोसँग सिक्छु, काकीलाई खाना बनाउने कलाबारे सोध्छु, एउटी राम्री गृहिणी बनेरै छोड्छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement