भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का अध्यक्ष बृजभूषण शरण सिंहमाथि लगाइएको यौन शोषण अनि तानाशाहीको आरोपहरूलाई लिएर धर्नामा बस्ने पहलवानहरूले शुक्रवार राति खेल मन्त्री अनुराग ठाकुरसँग बैठक गरे। खेल मन्त्रीले मामिलाको निष्पक्ष जाँचको निम्ति समिति गठन गर्ने घोषणा गरे। यसको साथमा मामिलाको जाँच पूरा नभञ्जेल फेडरेशनका अध्यक्ष बृजभूषण शरण सिंहको पावर सीज रहनेछ। अर्थात्, जाँच पूरा नभञ्जेलसम्म उनी पदमा रहनेछैनन्। यसको साथै स्टार पहलवान बजरंग पूनियाले धर्ना समाप्त भएको घोषणा गरे। यसबीच भारतीय ओलम्पिक समिति (आईओए)-ले डब्ल्यूएफआई का अध्यक्षमाथि लगाइएको यौन उत्पीड़नको मामिलाको जाँचको निम्ति सात सदस्यीय समिति गठन गऱ्यो, जसमा एमसी मेरिकोम र योगेश्वर दत्त जस्ता दिग्गज खेलाड़ी पनि सामेल छन्। यी दुईको साथमा यस प्यानलमा धनुर्धर डोला ब्यानर्जी र भारतीय भारोत्तोलन महासंघका अध्यक्ष सहदेव यादव पनि रहनेछन्। यो फसेला आईओए-को कार्यकारी परिषदको आपात बैठकमा लिइयो। यस बैठकमा आईओए अध्यक्ष पीटी उषा र संयुक्त सचिव कल्याण चौबेको साथमा अभिनव बिन्द्रा र योगेश्वर जस्ता खेलाड़ीहरूले पनि हिस्सा लिए। शिवा केशवन विशेष आमन्त्रितको रूपमा बैठकमा सामेल भए।

खेल मन्त्रीको आश्वासनपछि ओलम्पिक पदक विजेता पहलवान बजरंग पूनियाले धर्ना समाप्त भएको घोषणा गरे। उनले भने, खेल मन्त्रीले हाम्रो माग सुने अनि हाम्रो सुरक्षाको आश्वासन पनि दिए। मामिलाको निष्पक्ष जाँच हुने हामीलाई विश्वास छ। हामी खेल मन्त्रीलाई धन्यवाद दिन्छौं अनि धर्ना समाप्त भएको घोषणा गर्दछौं। यसअघि डब्ल्यूएफआई-का अध्यक्ष बृजभूषण शरण सिंहलेआफ्नो प्रेस कन्फ्रेन्सलाई रद्द गरे। उनले भने, मैले मुख खोले भने तूफान आउनेछ। म कसैले दया-मायाले यहाँ पुगेको होइन। मलाई जनताले चयन गरेर यहाँ पठाएको हो। उल्लेखनीय छ, भारतकी स्टार महिला पहलवान विनेश फोगाटले बृजभूषणमाथि यौन उत्पीड़न अनि उनलाई मानसिक रूपले प्रताड़ित गरेको आरोप लगाएकी थिइन्। विनेशले बताएअनुसार, डब्ल्यूएफआई अध्यक्षले धेरैजना महिला पहलवानसँग यौन शोषण गरेका थिए। विनेशको समर्थनमा साक्षी मलिक, बजरंग पूनिया, अंशु मलिक र रवि दहियासहित धेरैजना पहलवान धर्नाको निम्ति जन्तर-मन्तरमा उपस्थित भएका थिए।