नाम्ची कन्या उच्चतर माध्यमिक विद्यालयको पाइप ब्यान्डका सदस्यागण दिल्ली लागे

नाम्ची: गणेश राई नाम्ची नगर परिषदका अध्यक्षले नाम्ची कन्या उच्चतर माध्यमिक विद्यालयको पाइप ब्यान्ड दललाई झण्डा हल्लाएर दिल्ली प्रस्थान गराए। २२ जनवरीको दिन दिल्लीमा‌ समपन्न हुने राष्ट्रिय स्तरको पाइप ब्यान्ड प्रतियोगितामा यस टोलीले भाग लिने छन्। यस प्रतियोगिता गणतन्त्र दिवस समारोह अन्तर्गत आयोजना भइरहेको छ।विद्यार्थीहरू आज नाम्चीबाट बागडोगरा प्रस्थान भए भने बागडोगराबाट हवाई जहाजमा दिल्ली जानेछन्। विद्यार्थीहरूको दलसँग विद्यालयकी प्रधानाध्यापक बन्दना राई र शिक्षकहरू रिन्जिङ ओङ्गमु शेर्पा, लाक्पा ल्हमु शेर्पा र भीम प्रसाद शर्मा पनि दिल्ली गइरहेका छन्। यस अवसरमा शिक्षा विभागको समग्र शिक्षाका निदेशक मिलन सुब्बा, सीईओ नाम्ची के इम्बाराज तथा अन्य अधिकारीहरू र अभिभावकहरू पनि उपस्थित थिए। शिक्षा विभागको समग्र शिक्षाले आयोजना गरेको राज्यस्तरीय प्रतियोगितामा नाम्ची कन्या उच्चतर माध्यमिक विद्यालय विजय बनेको थियो यसपछि, उनीहरूले भर्चुअल माध्यमद्वारा राष्ट्रिय स्तरको सेमिफाइनल पार गरेका थिए भने अब राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने अवसर पाएका हुन्। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले उक्त विद्यालयको ब्यान्ड उन्नयनका लागि तीन लाख रूपियाँ प्रदान गरेका थिए। यसै क्रममा नाम्ची जिल्लापालले पचास हजार रूपियाँ र समग्र शिक्षाले तीस हजार रूपियाँ प्रदान गरेको थियो। विद्यालयकी प्रधानाध्यापकले सहयोगका लागि सबैप्रति आभार व्यक्त गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement