गान्तोक। केन्द्रमा भाजपा सरकारको गौरवशाली आठ वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टी, सिक्किमले आज सिङ्तामस्थित प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमबीच दुई सप्ताहव्यापी सेवा, सुशासन तथा गरीब कल्याण पर्वको शुरूवात गऱ्यो। आगामी १५ जूनसम्म चल्ने यस अभियानको उद्घाटन कार्यक्रममा प्रदेश अध्यक्ष डीबी चौहान मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा पार्टीका विधायकगण वाईटी लेप्चा, फरवन्ती तामाङ, राजकुमारी थापा, पिन्छो नामग्याल लेप्चा, उपाध्यक्ष अर्जुन राई, महासचिवद्वय भरत दुलाल एवं सुदीप प्रधान, विभिन्न मोर्चा अध्यक्ष, प्रदेश कार्यसमिति सदस्यगण साथै जिल्ला अध्यक्ष, महासचिव, मण्डल अध्यक्षहरू एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विगत आठ वर्षदेखि विभिन्न केन्द्रीय योजनाबाट सिक्किमे जनताले पाएका लाभहरूमाथि आधारित उपलब्धिहरूलाई समेटेर प्रकाशित पत्रिकाको विमोचन गरियो। सो पत्रिका आगामी १५ दिनसम्म राज्यका सबै निर्वाचन क्षेत्रहरूमा वितरण गरिनेछ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश महासचिव श्री सुदीप प्रधानले आगामी १५ दिनको कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दै विभिन्न स्तरमा पदाधिकारीहरू तथा विधायकगणलाई जिम्मेवारीहरू प्रदान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीबी चौहानले विगत आठ वर्षमा केन्द्रको भाजपा सरकारले विभिन्न गरीब कल्याणका योजनाहरू शुरू गरेको अनि यसबाट सिक्किमका प्रत्येक घरहरूले कुनै न कुनै रूपमा लाभ प्राप्त गरिरहेको अवगत गराए। विशेष गरी कोरोना कालमा विगत दुई वर्षदेखि सिक्किमका ३.८ लाख जनताले निःशुल्क रूपमा प्रतिमहिना पाँच किलो रासन प्राप्त गरिरहेको, शत प्रतिशत जनताले निःशुल्क कोरोना भ्याक्सिन लगाएको, जल जीवन मिशन अन्तर्गत प्रत्येक घरमा शुद्ध पेयजलको प्रकल्पहरूको उल्लेख गर्दै यी योजनाहरूबाट सिक्किमको कुनै पनि घर नछुटेको जानकारी दिए। अध्यक्ष चौहानले विशेष गरेर अहिले जल जीवन मिशन अन्तर्गत राज्यका सबै जिल्लाहरूमा पिउने पानीको काम भइरहेको अवगत गराउँदै यसमाथि प्रत्येक भाजपा कार्यकर्ताहरूले निगरानी राख्नुपर्ने आग्रह गर्दै कतै लापर्वाही भएको पाए पार्टीमा रिपोर्ट दिने आह्वान गरे।
यसै गरी केन्द्र सरकारको प्रधानमन्त्री जन विकास कार्यक्रम अन्तर्गत राज्यमा विभिन्न पूर्वाधारहरूको निर्माणकार्य भइरहेको र कतिपय प्रस्तावित रहेको अवगत गराउँदै यसमा सोरेङमा शुरू गरिएको १०० पलङयुक्त जिल्ला अस्पताल, सिङ्ताममा प्रस्तावित १०० पलङयुक्त जिल्ला अस्पताल, विभिन्न विद्यालयहरूमा विद्यालय भवनहरू, वुमन्स होस्टलहरू, १५९ वटा स्कूलमा स्मार्ट क्लास उपकरणहरू जड़ान गरिएका आदि सामेल रहेको बताए। सोही प्रकारले विगत आठ वर्षमा सिक्किमका गाउँ-गाउँमा प्रधानमन्त्री ग्राम सड़क योजना अन्तर्गत १११३ किलोमिटर सडक निर्माण भएको साथै यसबीच राज्यमा ४०० किलोमिटर राष्ट्रिय राजमार्ग विस्तार भएको पनि अध्यक्ष चौहानले बताए।
यसै गरी स्वास्थ्य क्षेत्रका उपलब्धिहरूमाथि बोल्दै चौहानले आयुष्मान भारत योजनाअन्तर्गत अहिलेसम्म सिक्किमका ४५ हजारभन्दा अधिकले कार्ड प्राप्त गरेको र ५ हजारभन्दा अधिक विरामीहरूले ४.५ करोड़को उपचार सुविधा पाइसकेको बताए। यस अतिरिक्त कोरोनाकालमा राज्यमा भाइरल ल्याब, एसटीएनएम लगायत सबै जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गरिएको पनि भाजपा सरकारका उपलब्धिहरू रहेको बताए। यस अतिरिक्त पनि धेरै योजनाहरूबाट सिक्किमे जनताले लाभ पाइरहेको बताउँदै सबै कार्यकर्ताहरूले यी विषयमाथि आम जनतालाई बुझाउन आग्रह गरे।
कार्यक्रमलाई प्रवक्ता डा. राजु गिरी, किसान मोर्चा महासचिव श्री विकास प्रधानलगायत अन्य विभिन्न वक्ताहरूले सम्बोधन गरेका थिए। दुई सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन भोलि सोरेङमा पार्टी महिला मोर्चाको कार्यक्रम रहेको छ। १५ जूनसम्म विभिन्न मोर्चा कमिटी, जिल्ला कमिटी तथा प्रदेश स्तरमा कार्यक्रम हुनेछन्।