फूटबल जगतका दुई महानायक क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी बिहीवार राति एकार्का विरुद्ध मैदानमा ओर्लिए। सऊदी अरबको रियाद इलेभेन (अल स्टार) र फ्रान्सको शीर्ष क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-बीच खेलिएको यस मैत्री म्याचको आनन्द लिन बलिवुडका महानायक अमिताभ बच्चन पनि किंग फाहद इण्टरनेशनल स्टेडियममा उपस्थित थिए। सऊदी अरबको क्लब अल नासेरसँग २०२५-सम्मको निम्ति अनुबन्धपछि रोनाल्डो पहिलोपल्ट प्रतिस्पर्धी म्याचको निम्ति मैदानमा ओर्लिए। म्याच शुरु हुन अघि अमिताभ बच्चनले रोनाल्डो र मेस्सीसँग भेट गरे। मैदानमा तीन महानायकको तस्वीर अहिले सोशल मीडियामा निक्कै भायरल भइरहेको छ।

म्याचमा दशजना खेलाड़ीको साथ खेल्ने पीएसजी-ले रियाद एकादशलाई ५-४-ले पराजित गऱ्यो। जुआन बेरनाटले ३९औं मिनटमा रातो कार्ड देख्दा दशजना खेलाड़ीमा सीमित हुने पीएसजीबाट लियोनल मेस्सीले तेस्रो, मार्क्विन्होसले ४३औं, सर्जियो रामोसले ५३औं, कीलिन एम्बाप्पेले ६०औं (पेनल्टी) र हूगो एकिटिकेले ७८औं मिनटमा गोल गरे। म्याचमा पीएसजी-का नेमारले पेनल्टी पनि गुमाए। यसरी नै रियाद एकादशबाट रोनाल्डोले ३४औं र मध्यान्तर अघि स्टपेज टाइमको छैटौं मिनटमा गोल गरे। यसबाहेक दक्षिण कोरियाका जांग ह्यून-सू-ले ५६औं र टेलिस्काले स्टपेज टाइमको चौथो मिनटमा गोल गरे।