खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)का चारजना प्रार्थीहरुले बुधबार खरसाङ महकुमा शासक कार्यालयमा नामांकन पत्र भरेका छन्। नामांकन पत्र भर्न अघि प्रार्थिहरुलाई लिएर जुलुस निकालेर खरसाङ बजार परिक्रमा गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका अध्यक्ष अनित थापाले जुलुसलाई नेतृत्व दिएका थिए। नामांकन पत्र भर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थीहरुमा तकदाह-ग्लेनवर्ण समष्टिबाट पुलक मोक्तान, तक्लिङ पेशोक समष्टीबाट मणिप्रसाद राई, तकदाह-टिस्टाभेल्ली समष्टिबाट ढेन्डुप पाख्रिन अनि मंग्पू-लाब्दा समष्टिबाट रतन थापाले खरसाङ महकुमा शासक कार्यालयमा पुगेर नामांकन पत्र बुझाएका छन्। नामांकन पत्र बुझाउनेहरूमा मंग्पू-लाब्दा समष्टिको प्रार्थी रतन थापा पहिला ५ वर्ष यसै समष्टिबाट सभासद रहेका थिए र यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पनि रतन थापालाई मंग्पू-लाब्दा समष्टिबाट टिकट दिएर एकपल्ट फेरि विश्वास गरेका छन्। मंग्पू-लाब्दा समष्टिबाट रतन थापालाई पार्टीले टिकट दिएपछि निर्दलीय प्रार्थीको रूपमा धेरैले चुनावमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। आफ्नो नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै मंग्पू-लाब्दा समष्टिको भागोप्रमोको प्रार्थी रतन थापाले पहिला पाँच वर्ष यसै समष्टिबाट सभासद रहेको थिए र पहिला मैले गरेको कामहरूलाई हेरेरे जनताले यसपाली पनि विस्वास गर्छन् भन्ने आशा छ भनी बताएका छन्। यसपाली स्वतन्त्र प्रार्थीहरू धेरै रहेको विषयमा सोधिएको प्रश्नको उत्तरमा रतन थापाले गणतन्त्रमा जसले पनि चुनाव लड्न सक्ने बताउँदै जति बेसी प्रार्थीहरू हुन्छ त्यति नै हाम्रो प्रतिस्पर्धा हुने र यसपाली मलाई पार्टीले पुरानै समष्टीबाट टिकट दिने निर्णय गरेकोले यसपाली पनि जनताले जिताउने आशा व्यक्त गरेका छन्। रतन थापाले भूमिपुत्र विषयमा बोल्दै म पाकिस्तानबाट आएको होइन, बंगलादेशबाट पनि आएको होइन भन्दै देशको प्रधानमन्त्री र योगी आदित्यनाथ अनि खरसाङको वर्तमान विधायकको उदाहरण दिँदै म नजिकको मान्छे रहेको र पहिला मैले गरेको धेरै कार्यहरू र थाँतीमा रहेको धेरै कार्यहरू गर्ने वाचा पनि गरेका छन्। थापाले भविष्यमा म मंग्पू-लाब्दा समष्टिको लागि धेरै कार्यहरू गर्नु बाँकी रहेको र जितेर गएर गर्ने बताएका छन्। थापाले हामी ५ जूनदेखि घर दैलो अभियान गर्ने भन्दै मंग्पू-लाब्दा समष्टिको जनताले मलाई माया गर्छन् भन्ने कुरामा आशावादी रहेको बताएका छन्। त्यसरी नै तीनजना प्रार्थीहरु क्रमैले ढेण्डुप पाख्रीन, मणिप्रसाद राई र पुलक मोक्तानले पनि पत्रकारहरुसित कुराकानी गर्दै गर्दै विस्तृत रुपमा बताएका छन्।