राज्यस्तरीय प्रि-सोनम लोसार पर्व पालन

सिक्किमे एकतालाई कसैले तोडनु हुँदैन्: मुख्यमन्त्री प्रेम सिंह तामाङ

गान्तोक: सिक्किम तामाङ बौद्ध संघको पहलमा आज रानीपुल स्थित सरमसा गार्डेनमा राज्यस्तरीय प्री सोनम लोसर पर्व भव्यरूपमा पालन गारियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राज्यमा घटदो जन्मदरको स्थितिमाथि चिन्ता व्यक्त गरे। उनले राज्यमा घटदो जन्मदरलाई वृद्धि गर्ने उद्देश्यले सरकारी नौकरीमा कार्यरत आमाहरूको निम्ति एसिस्टेन्ट चाइल्ड केयर उपलब्ध गराउने घोषणा गरे। उनले प्रसङ्ग फेर्दै एसकेएम पार्टी सरकारमा आएपछि राज्यका सबै समुदायले आफ्नो जातिय पर्व स्वतन्त्रतारूपमा पालन गर्ने अवसर पाएको किटान गरे। पूर्व सरकारको कार्यकालमा यस प्रकारको स्वतन्त्रता नरहेको दावी गरे। पहिला पहिला कुनै पनि संघ संस्थाका प्रतिनिधिहरूको छनौट गर्दै मिन्तोगाङबाट सिफारिस लिनु पर्ने अवस्था थियो तर अहिले स्वतन्त्रतारूपमा सबैले आफ्नो जातिय प्रतिनिधिहरू छनौट गर्ने सरकारले वातावरण सृजना गरेको जानकारी गराए। वर्तमान सरकारले कुनै पनि जातिय संगठनहरूमा हस्तक्षेप नगरेको अवगत गराए। यसरी नै जातिय कार्यक्रममा पार्टीको झण्डा लगाएर जानु पर्ने प्रथा वर्तमान सरकारले बन्द गरेको बताउँदै जातिय संगठनलाई पार्टीको कलंक लगाउन नहुने सुझाउ दिए। सोही प्रकारले उनले वर्तमान सरकारले पञ्चायत चुनाउलाई पार्टीलेस बनाएको अवगत गराउँदै यसो गरेपछि जनताले मन परेको उम्मेदवार छनौट गर्न सकेको बताए। यसरी पार्टीलेस चुनाउ हुँदा जनतालाई धेरै लाभ पुग्न सकेको उनले थप जानकारी गराए। उनले सबै जातीले आफ्नो संस्कार, परम्परा र भाषाको संरक्षण गर्नु पर्ने आग्रह गर्दै राज्य सरकारको तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए। हाल राज्यका सबै समुदायहरूको भवन निर्माण शुरू भएको बताए। कतिपय भवनहरू पूर्व सरकारको कार्यकालमा शुरू भएको भएता पनि धनराशि आवन्टन नगरेको हुनाले वर्तमान सरकारले नै धनराशि उपलब्ध गराएको अवगत गराए। वर्तमान सरकारले राज्यमा बसोबासो गर्ने कुनै पनि समुदायमाथि भेदभाव नगरि न्याय दिएको किटान गरे। हामी जुनै जातमभित्र परेता पनि हामी सिक्किमे हौं र सिक्किमको यो एकतालाई कसैले पनि तोडन दिनु नहुने मुख्यमन्त्रीले आग्रह गरे। वर्तमान सरकारले छोटो अवधिमा शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए। यसरी नै सरकारी कर्मचारीहरूलाई एकै पल्टमा एरियर उपलब्ध गराएर उदाहरणीय कार्य गरेको उनले जानकारी गराए। सोही प्रकारले एडह्क शिक्षकहरूलाई स्थायीकरण गर्नको निम्ति सरकारले नीति बनाएपछि 6 सय भन्दा अधिक शिक्षकहरू स्थायी बनेको अवगत गराए। अब सरकारले पुरानो पेन्सन योजनालाई पूनः फिर्ता लिएर लागु गर्नको निम्ति समिति गठन गरिसकेको जानकारी गराए। यस अवसरमा तामाङ समुदायको जमीन अन्य समुदायबीच किनबेच हुन नदिने माग संस्थाले गरेको र यसलाई मुख्यमन्त्रीले सहस्र स्वीकार्दै यसको निम्ति प्रस्ताव सरकारलाई चढाउनु पर्ने आग्रह गरे।

कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती,मन्त्री सोनम लामा,मन्त्री संजीत खरेल, मन्त्री एमएन शेर्पा, मन्त्री डा. एमके शर्मा, लोकसभा सांसद इन्द्र हाङ सुब्बा लगायत विधायकगणको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement