सिलगढी। सिलगढी महकुमा परिषद चुनाउमा भाजपा तृणमूल कङ्ग्रेसलाई पराजित गर्नको लागि वाम-कङ्ग्रेसमाझ आसन सम्झौतामा सहमति भएको छ। दुवै पार्टीले आ-आफ्नो नामाङ्कन पत्र बुझाएपछि जीवेश सरकार र शंकर मालाकारले आज यस प्रकारको जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार हिजो मंगलबार कङ्ग्रेसको तर्फबाट दुईजना उम्मेद्वारले नामाङ्कन बुझाएका थिए भने आज चारजना उम्मेद्वारहरूले आ-आफ्नो नामाङ्कन पत्र भरेका छन्। यसको साथै भोली अझ दुईजना उम्मेद्वारले नामाङ्कन भर्नेछन्। यसरी हेर्दा कङ्ग्रेसले मोठ ८ सीटमा उम्मेद्वार चुनाउ मैदानमा उतार्ने भएको छ। यसैगरी, वाम दलले पनि ८ आसनमा आफ्नो उम्मेद्वार उतार्ने भएको छ। वाम दल सूत्रले बताएनुसार आज ८ मध्ये ७ जना उम्मेद्वारहरूले नामाङ्कन दर्ता गरेका छन्। अझ एकजना उम्मेद्वारले भोली नामाङ्कन बुझाउने छ। यसबारे दार्जीलिङ जिल्ला वाम मोर्चाका संयोजक जिवेश सरकारले भने, कुनै गठबन्धन गरिएको छैन। आसन सम्झौताले गर्दा तृणमूल र भाजपाको पराजय हुनेछ। भोट बाँडिएर तृणमूल र भाजपा उम्मेद्वारलाई फाइदा पुगोस् भन्ने वामफ्रण्टले चाहँदैन। अर्कोतिर शंकर मालाकारले भने, तृणमूल भाजपालाई पराजित गर्नको लागि यदि आवश्यक पऱ्यो भने कङ्ग्रेसले सीपीएम-को लागि अझ दुइ वटा आसन छोडिदिने छ। पुरानो सिलगढी मडललाई जारी राखियो भने तृणमूल भाजपाको पराजय सम्भव छ।