दशौं खरसाङ (Kurseong) शहीद गोल्ड कप शुरुः रोमाञ्चक जीतको साथ रोयल एफसी क्वार्टर फाइनलमा

खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा रोयल फूटबल क्लब क्वार्टर फाइनलमा पुग्यो। खरसाङ नजिक चानमारी खेल मैदानमा आज भएको म्याचमा रोयल एफसी-ले हिल सेभेन फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि रोयल एफसीले अतिरिक्त समय (१५-१५ मिनटको दुई हाफ)-को अन्तिम क्षणमा गोल गरी म्याच जित्यो। विजेता टीमबाट दुवै गोल करण राईले गरे। यसमा अतिरिक्त समयमा फ्री किकबाट गरेको दर्शनीय गोल पनि सामेल छ। हिल सेभेन एफसी-बाट राञ्जी शेर्पाले गोल गरे। रोयल एफसी-का फरवर्ड करण राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र कालेबुङ पुलिसबीच भिड़न्त हुनेछ। खेलकुद एवम् युवा मामिला विभाग (जीटीए)-को सहयोगमा भइरहेको यस प्रतिष्ठित टुर्नामेण्टमा १२ वटा नामी-दामी टीमहरूलाई स्थान दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ३० जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement