खरसाङ: पर्यावरण संरक्षण र प्लास्टिकको प्रयोगमाथि सचेतना गराउने उद्देश्यले पैदल नै विश्व भ्रमणमा निस्केका महाराष्ट्रको नागपुर निवासी रोहण अग्रवाल खरसाङ आईपुगेका छन्। २१ वर्षीय रोहण अग्रवालले आफु १८ वर्षको उमेरमा नै वाराणासीबाट २५ अगस्त २०२० मा आफ्नो यात्रा शुरु गरेका थिए। पैदल यात्रा गर्दै विश्व भ्रमणमा निस्केका रोहण अग्रवालले अहिलेसम्म भारतको २७ राज्यहरू र बंगलादेशको ३६ जिल्लाहरू पैदल यात्रा गर्दै खरसाङ आईपुगेका छन्। आज खरसाङमा बसेर भोलि बिहानै दार्जिलिङको लागि पैदल निस्केर पशुपति नगर हुँदै नेपाल जाने भएका छन्। रोहणले लगभग ८८० दिनदेखि लगातार रूपमा १५ हजार किलोमीटर पैदल यात्रा गर्दै पर्यावरण विषयमा मानिसहरूलाई सचेतना गराईरहेका छन् भने प्रदुषण कम गराउन र प्लास्टिकको प्रयोग कम गराउन साथै पर्यावरण संरक्षणको लागि सचेतना गराउँदै पैदल यात्रा गरिहेका छन्। खरसाङ आएर रोहण अग्रवालले भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय भवनमा पुगेर सौहार्दपूर्ण भेटघाट गरेका छन्। यसावधि गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट पूर्व सभापति एंव समाजसेवी तिलक शर्माले खदार्पणसहित रोहण अग्रवाललाई स्वागत जनाएका थिए। त्यसरी नै रोहणले खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा लगायत यहाँको सामाजिक संस्था ईभान फाउण्डेशनका पदाधिकारीहरूसित भेटघाट गरेका छन्।

पैदल यात्रा गर्दै खरसाङ आएका २१ वर्षीय रोहण अग्रवालले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै आफ्नो पैदल यात्रा गर्नुको उद्देश्य विस्तृत रुपमा बताउँदै आफुले तीन वर्ष अघि वाराणासीबाट हंगामा स्नान गरेर आफ्नो यात्रा शुरु गरेको बताउँदै अहिलेसम्म भारतको २७ राज्यहरू र बंगलादेशको ३६ जिल्लाहरू पैदल यात्रा गर्दै पुगेको र आज खरसाङ अाइपुगेको बताए। उनले यो विश्वव्यापी पैदल यात्रा गर्दै मानिसहरूलाई पर्यावरण विषयमा जागरुक गराईरहेको पनि बताएका छन्।









