महिला पहलवानहरूसँग यौन उत्पीड़न, खेल मन्त्रालयको कठोर कदम

महिला पहलवानहरूद्वारा बुधवार गरिएको प्रेस कन्फ्रेन्समाथि प्रतिक्रिया व्यक्त गर्दै खेल मन्त्रालयले रेसलिंग फेडरेशन अव् इण्डियासँग ७२ घण्टाभित्र आरोपहरूको जवाफ मागेको छ। महिला पहलवानहरूले फेडरेशनका अध्यक्ष र प्रशिक्षकहरूमाथि यौन उत्पीड़नको गम्भीर आरोप लगाएकी छन्। प्रेस कन्फ्रेन्स गर्ने पहलवानहरूमा ओलम्पिक र कमनवेल्थ गेम्समा पदक विजेताहरू पनि सामेल छिन्। मामिला एथलीटहरूसँग सम्बन्धित हुनाले मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिएको खेल मन्त्रालयले स्पष्ट रूपले जनाएको छ। रेसलिंग फेडरेशन अव् इण्डियाले ७२ घण्टाभित्र जवाफ नदिए मन्त्रालयले नेशनल स्पोर्ट्स डेभलपमेण्ट कोड, २०११-का प्रावधानहरू अन्तर्गत फेडरेशन विरुद्ध कार्वाही गर्ने खेल मन्त्रालयले जानकारी दिएको छ। यसको साथमा खेल मन्त्रालयले १८ जनवरीदेखि लखनऊमा शुरु हुने महिला राष्ट्रिय कुश्ती प्रशिक्षण शिविरलाई पनि रद्द गरेको छ। यस शिविरमा ४१ जना महिला पहलवान, १३ जना प्रशिक्षक र सपोर्ट स्टाफहरूले हिस्सा लिइरहेका थिए। खेल मन्त्रालयले लखनऊ स्थित भारतीय खेल प्राधिकरण (साई)-को नेशनल सेण्टर अव् एक्सिलेन्स निदेशकलाई शिविरको निम्ति अगावै त्यहाँ पुग्ने महिला पहलवानहरूलाई त्यहाँ बसुञ्जेल समस्त सुविधाहरू उपलब्ध गराउने निर्देश दिएको छ।

टोक्यो ओलम्पिकमा काँस्य पदक विजेता बजरंग पूनिया र विश्व च्याम्पियनशीपमा पदक विजेता विनेश फोगाट सहित देशका शीर्ष पहलवानहरूले बुधवार भारतीय कुश्ती महासंघ (रेसलिंग फेडरेशन अव् इण्डिया)-का अध्यक्ष बृजभूषण शरण सिंहको तानाशाही नीति विरुद्ध बुधवार विरोध प्रदर्शन गरेका थिए। उनीहरूले फेडरेशनका अध्यक्ष र प्रशिक्षकहरूमाथि महिला पहलवानहरूसँग यौन शोषण गरेको आरोप लगाएका थिए। विनेश फोगाटले त रुँदै भारतीय कुश्ती महासंघका अध्यक्ष तथा बीजेपी सांसद बृजभूषण शरण सिंहले सालौंदेखि महिला पहलवानहरूसँग यौन शोषण गरेको आरोप लगाएकी थिइन्। यस २८ वर्षीय पहलवानले उनी स्वयं चाहिँ यस प्रकारको शोषणको शिकार नभएको पनि स्पष्ट गरिन्। अर्कोतिर, बृजभूषणले चाहिँ यी आरोपहरूलाई सरासरी खारेज गरेका छन्। उनले त आरोप सही साबित भए फाँसीको शास्ती पनि स्वीकार गर्न तयार रहेको बताएका छन्। सिंह २०११-देखि भारतीय कुश्ती महासंघका अध्यक्ष पदमा रहेका छन् अनि फरवरी २०१९-मा उनलाई लगातार तेस्रोपल्ट चयन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement