गान्तोकः सिक्किमको विभिन्न महाविद्यालयका विद्यार्थीहरू दिल्ली, आगरा र जयपुरको सप्ताहव्यापी भ्रमणमा प्रस्थान भएका छन्। शिक्षा विभाग मन्त्री कुङ्गा निमा लेप्चाले आज राजधानीस्थित एसएनटी परिसरबाट विद्यार्थीहरूलाई शुभकामनासहित प्रस्थान गराए। यस अवसरमा शिक्षा विभागकी सचिव सुमिता प्रधान, विभागीय अधिकारीहरू र महाविद्यालयहरूका प्राचार्यहरू उपस्थित थिए। विद्यार्थीहरूको टोलीमा एसटीडीसीका उप महाप्रबन्धक अमित कपिल छेत्री र विभिन्न महाविद्यालयका ११ जना यहायक प्राद्यापकहरू पनि सामेल छन्। सप्ताहव्यापी शैक्षिक भ्रमण अवधि विद्यार्थीहरू राष्ट्रिय राजधानी दिल्ली, आगरा र जयपुर जानेछन्।

आगामी २४ जनवरीसम्म चल्ने यस भ्रमणमा अन्तिम वर्षका १०२ जना विद्यार्थीहरू सामेल छन्। विद्यार्थीहरूको चयन पूर्ण रूपमा मेरिटको आधारमा गरिएको बताइएको छ। मन्त्री लेप्चाले विद्यार्थीहरूलाई शुभकामना दिँदै भ्रमणबाट शिक्षा आर्जन गर्न आह्वान गरे। उनले विद्यार्थीहरूको शैक्षिक भ्रमणको निम्ति सिक्किम सरकारलाई धन्यवाद दिए विद्यार्थीहरूलाई वर्तमान सरकारको योजना एक्सपोजर ट्रिप फर कलेज स्टुडेन्ट्स अन्तर्गत शैक्षिक भ्रमणमा पठाइएको हो। शैक्षिक भ्रमणको सम्पूर्ण खर्च राज्य सरकारले वहन गर्ने बताइएको छ।