गान्तोकः उत्तराखण्ड ऋषिकेशका ३९ वर्षीय एथलीट तथा पर्वतारोही चानले जलवायु परिवर्तन र ग्लोबल वार्मिङ उन्मूलन तथा भावी पुस्ताका लागि विश्वलाई एक उपयुक्त स्थानको रूपमा निर्माण गर्न सचेतना फैलाउँदै साईकल यात्रामा निस्केका छन्। अहिलेसम्म उनले साइकलमा १५ हजार ७०० किलोमिटरको दूरी तय गरी ४ महिनाको यात्रा पूरा गरिसकेका छन्। उनले ऋषिकेशबाट हिमाचलसम्मको यात्रा शुरु गरेपछि कन्याकुमारीसम्मको यात्रा गरेको बताएका छन् । यसै क्रममा उत्तरपूर्वमा आफ्नो यात्रा पूरा गरेपछि उनी १७ जनवरीको दिन सिक्किम आइपुगेका छन्।
राजधानी गान्तोकमा आज आयोजित एक पत्रकार सम्मेलनमा चानले आफ्नो विचार साझा गरे। उनले हर घर बच्चा, हर घर हरियाली जस्ता योजनाहरू लागू गर्न सरकारलाई आग्रह गर्दै बच्चाको जन्म हुँदा हरेक पटक विरूवा रोप्ने जस्ता अवधारणामाथि प्रकाश पारे। उनले सकेसम्म धेरै रुख रोपेर जङ्गल बनाउन सर्वसाधारणलाई आग्रह गरे। आफ्नो व्यक्तिगत जीवनशैलीको बारेमा कुरा गर्दै उनले यात्राको क्रममा आफू टेन्टमा बस्ने गरेको र प्रयोग गरिएको पार्टपुर्जाले बनेको साइकलमा घुम्ने गरेको बताए । उनले युवाहरुलाई सवारी साधनमा यात्रा गर्नुको सट्टा सकेसम्म साइकल प्रयोग गर्न सुझाए दिँदै साइकल यात्रीका लागि विशेष मार्ग निर्माण गर्न सरकारसँग आग्रह गरे। विभिन्न विद्यालय तथा कलेजमा गएर विद्यार्थीहरूलाई ग्लोबल वार्मिङका असरबारे जानकारी गराउने गरेको उल्लेख गरे। उनले ग्लोबल वार्मिङ भइरहने प्रक्रिया रहेको तर मानवले यसलाई नराम्रो स्थितिमा पुयाएको बताए । हामी पूर्ण शुन्यमा जान नसक्ने, तर कम्तिमा हामी न्यूनतम जाने प्रयास गर्न सक्ने उनले बताए।