नयाँ दिल्ली: भारतीय क्रिकेट टोलीका श्रेष्ठ कप्तानमध्येका एक मानिने बीसीसीआईका वर्तमान अध्यक्ष सौरभ गांगुलीले नयाँ शुरुवात गर्न लागेका छन्। सामाजिक सञ्जालमा विशेष सन्देश जारी गर्दै उनले आफ्ना फ्यानसँग सहयोग मागेका छन् र आजदेखि नयाँ शुरुवात गर्न लागेको बताएका छन्। अहिले यो शुरुवात के हो भन्ने कुरा उनले खुलाएनन् तर राजनीतिमा उनको आगमनको अड्कलबाजी भइरहेको छ। गांगुलीले ट्विट गर्दै भने, “मैले सन् १९९२ मा मेरो यात्रा शुरु गरेको थिएँ, २०२२ मेरो क्रिकेट करियरको ३० वर्ष पूरा गर्ने वर्ष हो। त्यसबेलादेखि अहिलेसम्म क्रिकेटले मलाई धेरै दिएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यसले मलाई तपाईहरू सबै दिएको छ। आज मेरो यो यात्रामा सहभागी भई मलाई आज यो स्थानमा पुर्याउनु हुने हरेक समर्थकलाई धन्यवाद दिन चाहन्छु। आज म केहि शुरु गर्ने योजनामा छु जसबाट धेरै मानिसहरू लाभान्वित हुनेछन् भन्ने आशा गर्दछु।म आशा गर्दछु कि तपाईं मसँग यो नयाँ अध्यायमा साथ दिनुहुनेछ।” सौरभ गांगुलीको यो धन्यवाद नोट देखेपछि उनले बीसीसीआईको पद छाडेको अनुमान गरिएको थियो। यी रिपोर्टहरू लगातार बाहिर आएपछि, बीसीसीआई सचिव जय शाहले यसबारे प्रतिक्रिया दिए। उनले गांगुली तत्कालका लागि आफ्नो पदमा रहने स्पष्ट पारे, उनले त्यस्तो केही भनेका छैनन्।