कालचिनीः कालचिनी खण्डको चुवापाड़ा चियाबारीको फूटबल मैदानमा आदिवासी मन्त्री बुलुचीक बडाईकको मुख्य उपस्थितिमा आजदेखि तीन दिवसीय जंगल महल उत्सव आरम्भ भयो। साँझघरी राज्यको आदिवासी विकास मन्त्री बुलुचीक बडाईक लगायत एसजेडीए चेयरम्यान डा. सौरभ चक्रवर्ती, जेडीए सदस्य तथा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराउँ, कालचिनी बीडीओ प्रशान्त बर्मन, चुवापाड़ा चियाबारीको प्रबन्धक, एवम् जिल्ला ट्राइबल विभागका अधिकारी सजल तामाङ, कालचिनी पञ्चायत समितिको चेयरम्यान अरुणा परियार, चुवापाड़ा ग्राम पञ्चायत प्रधान भगवती उराउँ, उपप्रधान राजेन लामा एवम् अन्यान्य विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो।
मन्त्री लगायत अन्यान्य अतिथिहरूको संयुक्त करकमलबाट दीप प्रज्वलन गर्दै जंगल महल उत्सवको शुभारम्भ गरिएको थियो भने मन्त्री बुलुचीक बडाइकले यस अवसरमा राखिएको सरकारी स्टलहरूको परिदर्शन साथै फिता काटेर स्टल उद्घाटन गरेको थियो। बीरभूम, बाँकुड़ा, मात्र नभएर मुख्यमन्त्रीको अनुप्रेरणाले उत्तरबंगालमा पनि आदिवासीहरूको निम्ति जंगल महल उत्सव गर्न दिएको र यसको माध्यममा आदिवासी कला संस्कृतिको संरक्षण साथै सरकारी योजनहरूको लाभ उठाउन सकिने बताए।
आगामी तीन दिनसम्म आदिवासी, सन्थाली, उराउँ, मुण्डा, मेच, राभा, गारो, डुक्पा, नेपाली जनजातिको सांस्कृतिक कार्यक्रम चल्ने कालचिनी ब्लक प्रशासनले जनाएका छन्।









