१ जूनः उत्तर बंगालको पहिलो पूर्ण पेशादार टीम कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले नयाँ सीजनको तयारी शुरु गरेको छ। टीमका मुख्य प्रशिक्षक दिनकर छेत्रीले बताएअनुसार, केएफसी-ले आउँदो सीजनको निम्ति तयारी शुरु गरिसकेको छ अनि खेलाड़ीहरूले मैदानमा हरेक दिन कठोर अभ्यास गरिरहेका छन्। सम्पूर्ण उत्तर बंगाल मात्र नभएर सिक्किम, उत्तर-पूर्व भारत अनि छिमेकी देश नेपालमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो छाप छोड़्ने केएफसी आउँदो सीजनमा सफलताको नयाँ इतिहास रच्ने तयारीमा छ। प्रशिक्षक दिनकर छेत्रीले भने, विभिन्न कठिनाईहरूको सामना गर्दै भए पनि हामीले क्लबमा खेलाड़ीहरूलाई हरेक सुविधाहरू उपलब्ध गरेका छौं अनि उनीहरूले पनि मैदानमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै आएका छन्। हामी आउँदो सीजनमा नयाँ ऊर्जाको साथ मैदानमा ओर्लिनेछौं अनि हाम्रो मुख्य लक्ष्य प्रत्येक म्याच जित्नु हुनेछ। यसै क्रममा खेलाड़ीहरूका निम्ति राशिन खरीद गर्न क्लबका प्रमुख संरक्षक (पेट्रन) साम्देन तामाङ (हंगकंगबाट)-ले १५ हजार रुपियाँको आर्थिक सहयोग गरेका छन्। उनले यसअघि क्लबको निम्ति ट्र्याक शूट पनि प्रदान गरेका थिए। प्रशिक्षक दिनकर छेत्रीले भने, क्लबका संरक्षकहरूले विभिन्न समयमा हामीलाई सहयोग गर्दै आइरहेका छन् अनि यसमा साम्देन तामाङ प्रमुख हुन्। म अनि सम्पूर्ण केएफसीको टीम उनी प्रति आभारी छौं।