कठ्याङ्ग्रिने जाडोमा १०औं शहीद गोल्ड फूटबल प्रतियोगिताले खरसाङमा ल्यायो न्यानोपन

00-Football-A

टीआरआई समाचार

खरसाङ: माघको कठ्याङ्ग्रिने जाडोमा १०औं शहीद गोल्ड फूटबल प्रतियोगिताको रौनकले आजदेखि खरसाङको सामाजिक परिवेशमा न्यानोपन ल्याएको छl आज (१७ जनवरी) देखि यो फूटबल प्रतियोगिता खरसाङको चानमारी खेल मैदानमा शुरु भएको छl दार्जीलिङ पहाडी भेकको प्रतिष्ठित खेलकुद संस्था खरसाङ गोर्खा हिल फुटबल एसोसिएसन (केजीएचएसए)ले राष्ट्रपितामहात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न सन् २०१४ देखि खरसाङमा शहीद गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्दै आइरेको छl

आज फूटबल प्रतियोगिता शुरु हुनअघि केजीएचएसएले खरसाङ शहरमा खेलाडीहरू, खेलकुद संस्था, सामाजिक संस्थाहरूलाई साथमा लिएर र्‍याली निकालेर समग्र शहरलाई खेलकुदमय बनायोl यो र्‍याली शुरु हुनअघि शान्ति, स्थिरता र प्रेरणाको प्रतीक निलो लुगाले ढाकिएको गोल्ड कप पुराना फूटबल खेलाडी एवं केजीएचएसएका ८६ वर्षीय अध्यक्ष्य मोहन लामा र संरक्षक एएस.बी सुनवारले अनावरण गरेl श्रद्धाञ्जली अर्पणको मुद्रामा गोर्खा सौनिकको मूर्ति रहेको सो गोल्ड कप हुड खोलिएको जीपको अघि राखेर र्‍यालीका साथमा शहर परिक्रमा गराउँदै चानमारी खेल मैदानमा लगियोl र्‍यालीमा खरसाङ निवासी राष्ट्रिय स्तरका फूटबल खेलाडी नगेन तामाङ, बडीबिल्डिङका अन्तर्राष्ट्रिय निर्णायक सञ्जय छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका युवा नेता पेमेन्द्र गुरुङलगयात धेरै खेलाडीहरूको सहभागीता रहेको थियोl

गोर्खाल्याण्ड टेरिटोरिअल एड्मिनिस्टे्रसन (जीटीए)को युवा अनि खेलकुद विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको यस फूटबल प्रतियोगितामा १२ वटा फूटबल टोलीहरूले भाग लिइरहेका छन्l भारतीय फूटबल टोलीका पूर्व कप्तान भाइचुङ भोटियाको टोली सिक्किम युनाइटेडले पनि भाग लिइरहेको छl प्रथम उद्घाटनी खेल सिक्किम युनाइटेड र युनाइटेड दिलाराम फूटबल क्लब माझ सम्पन्न भयोl यसमा दिलाराम युनाइटेड दिलाराम फूटबल क्लब विजयी बन्योl केजीएचएसएका सचिव निर्मल गुरुङले राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न सन् २०१४ देखि निरन्तर यो प्रतियोगिता आयोजना गर्दै आइरहेको बताएl यस प्रतियोगितमा विजेता टोलीलाई एक लाख पचास हजार रुपियाँ अनि उपविजेता टोलीलाई एक लाख रुपियाँको पुरस्कार प्रदान गरिने उनले बताएl आउँदो ३० जनवरीको दिन यस प्रतियोगिताको फाइनल खेल सम्पन्न हुनेछl ३० जनवरी १९४८ मा नाथुराम गोडसेले महात्मा गान्धीको हत्या गरेका थिएl ३० जनवरीको दिनलाई देशभरमा शहीद दिवसको रुपमा पालन गरिन्छl

केजीएचएसएले फूटबललगयात क्रिकेट, टेबल टेनिस, ब्याडमिन्टन, क्यारम बोर्ड, चेस, एथलेटिक्सहरू प्राय: वर्षभरि नै आयोजना गर्ने गरेको छl यसबाहेक खरसाङमा खेलकुदको मैदानको अभावलाई पूरा गर्न मैदान निर्माण गर्ने मागको विशेष अभियान पनि चलाउँदै आइरहेको छl सन् १९७० र १९८० को मध्यसम्म खरसाङका राधा बल्लभ गुप्त मेमोरियल फूटबल प्रतियोगिता (आरबीजीएम- नामले चर्चित थियो) र सन् १९९० को दशकको अन्तिमदेखि सन् २००४ सम्मको बीबी गुरुङ मेमोरियल फूटबल प्रतियोगिताको रौनक र गौरवलाई केजीएचएसएले शहीद गोल्ड आयोजना गरेर पूनः फर्काउने प्रयास गरिरहेको छl    

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *