पाथिङ्गमा पैह्रो प्रभावित परिवारहरूलाई सत्य साई सेवा सङ्गठन सिक्किमद्वारा राहत वितरण

नाम्ची: सत्य साई सेवा सङ्गठन सिक्किम राज्यको तत्वावधानमा आइतवार नाम्ची जिल्ला अन्तरगत बाङ्गगाङ्ग बजार नजीक पाथिङ्ग बस्तीका पैहरो पीडितहरूलाई राहत सामग्री वितरण गरियो। केही महिना अघिदेखि लगातार यो बस्तीको शीरबाट चट्टानहरू फूटेर बेमौसम भीषण पैह्रो जान थालेपछि स्थानीय जनजीवन निकै प्रभावित बनेको छ। यो आपदाको प्रकोपबाट आफ्नो एवं परिवारको ज्यान जोगाउन पीड़ित परिवारहरू आफ्नो क्षतिग्रस्त घर र अचल सम्पत्तिहरू त्यागेर स्थानीय स्कूल एवं अन्यत्र शिविरहरुमा आश्रय लिन बाध्य भएका छन्। सत्य साई सेवा सङ्गठन, सिक्किम राज्यका वरिष्ठ सदस्यहरूको टोलीले दुईपल्ट यस गाँउको स्थलगत सर्वेक्षण गरिसकेको छ। यसपछि साई सेवा दलहरूले विस्थापित भएका घर परिवारहरूको सरसमानहरू ओसार पसार, मरम्मत कार्य, तथा आश्रय शिविरहरू सेनिटाइज, सर-सफाईका सेवा कार्यहरू सम्पन्न गरे। यो सेवा कार्यहरू सम्पन्न गरिएपछि राहत शिविरबाट ८० घरका पीड़ित परिवारहरूलाई सत्य साई सेवा सङ्गठन, सिक्किम राज्यका राज्य अध्यक्ष पूनम प्रधान एवं अन्य वरिष्ठ कार्यकर्ताहरूको बाहुलीद्वारा आवश्यक राहत सामग्रीहरु वितरण गरियो। उक्त राहत सामग्रीअन्तर्गत प्रति परिवारलाई ३५ किलो चामल, अन्य आवश्यक खाद्य सामग्री एवं कम्बलहरू वितरण गरियो। यस अतिरिक्त दुई सुत्केरी महिलालाई विशेष सेवाको रूपमा १० हजार रूपियाँ औ नवजात शिशुहरूको निम्ति नयाँ कपडा र वस्त्रहरू वितरण गरियो। यसरी नै उक्त राहत टोलीले मङ्गले निवासी दुई भिन्न रूपले सक्षम परिवारलाई पनि आवश्यक खाद्य सामग्रीहरु प्रदान गरे। यस अवसरमा सिक्किम राज्यका राज्य अध्यक्ष पूनम प्रधानले पीड़ित परिवारहरूप्रति हार्दिक सहानुभूति प्रकट गर्दै यो बिकट घडीमा परिस्थितिहरूसित सामना गर्ने हौसला प्रदान गरे।
स्थानीय निवासी जीवन गुरुङले सेवा कार्यहरूका लागि सत्य साई सेवा सङ्गठन, सिक्किम राज्यप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उल्लेखनीय छ, यो राहत सेवा सञ्चालन गर्नमा स्थानीय समाज सेवी मीरा गुरुङ्ग साथै अन्यले विशेष सहयोग पुयाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement