नाम्चीः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जोरथाङस्थित एसएनटी परिसरमा सारस व्यापार मेलाको उद्घाटन गरे। व्यापार मेलाको आयोजना ग्रामीण विकास विभाग अधीनस्थ सिक्किम ग्रामीण आजीविका अभियानले माघे संक्रान्ति मेलाको एक भागको रूपमा गरेको हो। उद्घाटन समारोहमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, केबिनेट मन्त्रीहरू, विधायक सुनीता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेत तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
सारस मेलाको आयोजना राज्य तथा देशका अन्य राज्यहरूका स्वयं सहायता समूहद्वारा उत्पादित सर- सामग्रीहरूको बिक्रीका लागि गरिएको हो। व्यापार मेलामा ग्रामीण कारीगरहरूका सर-सामानहरू, हस्तकला र हथकरघा, जैविक उत्पादहरू बिक्री तथा प्रदर्शनीमा राखिएका छन्। सारस व्यापार मेला आगामी २४ जनवरीसम्म चल्ने छ। मेलामा सिक्किम तथा देशका अन्य राज्यहरूबाट आएका एसएचजीहरूले १२० दोकान लगाएका छन्। मुख्यमन्त्रीले दोकानहरूको भ्रमण गर्दै माघे संक्रान्तिको शुभकामना व्यक्त गरे । उनले यस मेलाको महत्वमाथि प्रकाश पार्दै यो मेला राज्यको समृद्ध संस्कृति र धरोहरसँग सम्बन्धित रहेको छ भनी बताए।










