दुर्गाप्रसाद श्रेष्ठलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण

बाग्राकोटः पश्चिम डुवर्सको बाग्राकोटमा आज एक भव्य साहित्यिक समारोहबीच वाराणसीका दुर्गाप्रसाद श्रेष्ठलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिएको छ। पुरस्कारमा नगद राशि १५,००१, प्रशस्ति-पत्र र अङ्गवस्त्र सम्मिलित रहेको छ। नेपाली साहित्यमा छः दशकभन्दा लामो समयदेखि सुदीर्घ योगदान दिएबापत् वाराणसीका वरिष्ठ साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई १२औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कारद्वारा अलङ्कृत गरिएको हो। बद्रीनारायण प्रधानको स्मृतिमा गठित बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले भारतीय नेपाली साहित्यका विशिष्ट साधकलाई सन् २०१२ देखि वर्षेनि यो पुरस्कारद्वारा पुरस्कृत गर्दै आएको छ। अस्वास्थ्यताका कारण काठमाडौँमा उपचाराधीन रहेका दुर्गाप्रसाद श्रेष्ठ समारोहमा उपस्थित हुन नसकेपछि उनको प्रतिनिधिको रूपमा काठमाडौँबाट आएका वरिष्ठ लेखक तथा विशिष्ट पत्रकार शरद् प्रधानले श्रेष्ठको पक्षमा यो पुरस्कार ग्रहण गरे। उनले काठमाडौँ पुगेर पुरस्कार दुर्गाप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नेछन्। पुरस्कार अलङ्करण समारोहलाई मूर्धन्य साहित्यकार नरबहादुर दाहालले अध्यक्षता गरेका थिए भने सुप्रसिद्ध कवि डा. राजेन्द्र भण्डारी मुख्य अतिथिका रूपमा उपस्थित थिए। वरिष्ठ लेखक तथा पत्रकार शरद् छेत्री र वरिष्ठ कवि डा. नरेशचन्द्र खाती कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आसिन थिए। अन्य अतिथिगणमा वरिष्ठ समालोचक डा. मोहन पी. दाहाल, वरिष्ठ साहित्यकार लोकनाथ उपाध्याय चापागाईंसहित बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष मदन खड़्का पनि मञ्चासीन थिए।
समारोहमा प्रमुख वक्ताको रूपमा बोल्दै डा. राजेन्द्र भण्डारीले डुवर्सले भारतीय नेपाली साहित्यलाई भविष्यमा नेतृत्व गर्ने क्षमता देखाउन थालेको मन्तव्य गरे। उनले भने, अबको डुवर्स हाम्रो साहित्यिक तीर्थ हुनेछ। डुवर्स भारतीय नेपालीहरूको साहित्यिक राजधानी बन्ने म आभास पाउँदैछु। जति-जति डुवर्स प्रखर हुँदछ, बद्रीनारायण प्रधान चहकिलो बन्दै जानेछन्। उऩले अझ भने, डुवर्स आफ्नै खुट्टामा उभिँदैछ। अब दार्जीलिङले डुवर्सतिर फर्केर हेर्नुपर्छ। डुवर्स हाम्रो साहित्यिक राजधानी बनोस्- मेरो शुभकामना। बद्रीनारायण प्रधानको आलोकले डुवर्स आलोकित बन्दै गइरहेको जिकिर गर्दै उनले डुवर्सको भविष्य उज्यालो भएको मन्तव्य गरे। बद्रीनारायण प्रधानको सन्दर्भमा बोल्दै उनले भने, बद्रीनारायण प्रधान ठूलो आकाश अनि सगरमाथा हुन्। उनी एउटा युगै हाँकेर बाँच्ने योद्धा थिए। बद्रीनारायण प्रधान नभएको डुवर्स कस्तो हुन्थ्यो होला- अन्धकारजस्तो हुन्थ्यो होला। बद्रीनारायण पाउनु डुवर्सको भाग्य हो। बद्रीनारायणको आलोकले डुवर्स सधैँ आलोकित भइरहनेछ। उनका हरेक पाटा कोट्याउँदा प्रत्येक नै एउटा विशाल पाटो भएर उदाउने गरेको उनले बताए। विशिष्ट अतिथि शरद् प्रधानले भारतेली नेपाली साहित्य दार्जीलिङकेन्द्रित भएको जिकिर गर्दै अब त्यो केन्द्र भत्काउन दार्जीलिङलाई चुनौती दिनुपर्ने डुवर्सलाई आह्वान गरे। उनले नेपालमा मोफसलमा बसेर साहित्य सिर्जना गर्न कृष्णभूषण बलले काठमाडौँकेन्द्रित साहित्यलाई चुनौती दिँदै ‘काठमाडौँले अब काठमाडौँ थाम्न सक्दैन’ भन्ने कविता लेखेजस्तै डुवर्सले पनि ‘दार्जीलिङले अब दार्जीलिङ थाम्न सक्दैन’ भन्ने भावको कविता लेख्नुपर्ने आह्वान गरे। स्रष्टाहरूका मूर्ति बनाउन भन्दा पनि उनीहरूका साहित्यिक रचनाहरू प्रकाशमा ल्याउनुपर्ने आवश्यकतामाथि जोड़ दिँदै उनले भने, मूर्तिले प्रतिभा त्यो स्तरमा चिनाउन सक्दैन जति कृतिले चिनाउँछ। प्रतिभाहरूलाई कसैले छेक्न नसक्ने उल्लेख गर्दै उनले अझ भने, बद्रीनारायण प्रधानलाई डुवर्स भनेर त्यो भूगोलले छेक्न सकेन। डुवर्सका अन्य प्रतिभाहरू पनि बद्रीनारायण जस्तै भएर अघि आउनुपर्छ। उनले मदन पुस्तकालयसँगको सहकार्यमा भारतीय नेपाली साहित्यलाई डिजिटलाइज्ड स्वरूपमा अर्काइभमा राख्ने कार्यमा आफूलाई सहयोग गर्न साहित्यकारहरूलाई आह्वान गरे। यसैगरी, वरिष्ठ साहित्यकार डा. नरेशचन्द्र खातीले बाग्राकोट साँच्चै ‘बद्रीधाम’ जस्तै लाग्नथालेको भाव पोख्दै यसलाई आधिकारिक घोषणा गर्न प्रतिष्ठानलाई आह्वान गरे। बद्रीनारायण प्रधान कम्युनिष्ट भएकै कारण साहित्य अकादमी लगायत कतिपय ठाउँबाट उनको सही मूल्याङ्कन हुननसकेको उनको विचार थियो। कसैलाई पनि अध्ययन गर्नअघि नै हामीले उनीहरूलाई विभिन्न ट्याग लगाएर पूर्वाग्रहले ग्रसित हुने प्रवृत्ति हावी रहेको बताउँदै यो प्रवृत्ति नत्यागे हाम्रो साहित्य र समाजलाई ठूलो घाटा लाग्ने उनले आफ्नो विचार राखे। बद्रीनारायण प्रधानलाई हाम्रो समाजले राम्रोसँग अध्ययन गर्नुपर्ने आवश्यकतामाथि पनि उनले जोड़ दिए। कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो अध्यक्षीय सम्बोधनमा मूर्धन्य साहित्यकार नरबहादुर दाहालले उत्तर प्रदेशका दुर्गाप्रसाद श्रेष्ठलाई पुरस्कृत गरेपछि बद्रीनारायण प्रधान स्मृति पुरस्कारले राष्ट्रिय स्वरूप पाएको विचार पोखे। बद्रीनारायण प्रधानसँग आफ्नो गुरु-शिष्यको सम्बन्ध रहेको उल्लेख गर्दै सैद्धान्तिक रूपमा विमति राख्ने मानिसहरूसँग पनि प्रधानले वैरवभाव नराखेको अनि उनीहरूको आलोचना नगरेको उनले अवगत गराए। साहित्य अकादमीबाट डुवर्स उपेक्षित रहेको मन्तव्य पोख्दै अकादमीमा डुवर्सले कोटा पाउनुपर्ने, डुवर्सको एउटा साहित्यिक संस्थाले मान्यता पाउनुपर्नेसमेत दाहालले माग गरे। कार्यक्रमलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक तथा वरिष्ठ समालोचक डा. मोहन पी. दाहालले पनि सम्बोधन गरे। उनले भने, विभिन्न ठाउँबाट कम्युनिस्टको नाममा खेदौरो लाग्न परे पनि अन्तमा बाग्राकोटमा आएर बसी यस ठाउँलाई बद्रीनारायण प्रधानले ‘धाम’ नै बनाए। उनी हाम्रा निम्ति पुज्य छन्। उनको विरासतलाई अघि बढ़ाउन सकेमात्र उनीमाथि साँचो श्रद्धाञ्जली हुनेछ। यस अवसरमा बद्रीनारायण प्रधानका सुपुत्र नारायण विक्रम प्रधानले पनि आफ्ना पिताका स्मृति र सम्झनाहरू ताजा गराए।
यसअघि बद्रीनारायण प्रधानबारे युवा कवि नारायण काफ्लेले छोटो कैरन प्रस्तुत गरे भने दुर्गाप्रसाद श्रेष्ठको परिचय वरिष्ठ साहित्यकार गोपालसिंह विश्वले राखे। कार्यक्रमको शुरुमा बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले स्वागत वक्तव्य राखेका थिए भने शिक्षक तथा सचेतक बिनम रहपहेंलीले स्वागत गीत प्रस्तुत गरे। समारोहमा खरसाङकी युवा कवि सन्ध्या आचार्य र नेपालका सुपरिचित कवि असीम सागरले सुन्दर भाव, शैली र वैचारिक प्रक्षेपणका साथ कविता प्रस्तुत गरे। कार्यक्रमलाई युवा निबन्धकार तथा प्रतिष्ठानका सचिव अजय खड्काले सञ्चालन गरेका थिए भने अध्यक्ष मदन खड़्काले धन्यवाद ज्ञापन गरे। कार्यक्रममा डुवर्स, दार्जीलिङ, कालेबुङ, खरसाङ, सिलगढ़ी, नेपाललगायतका क्षेत्रबाट साहित्यकार, बुद्धिजीवी एवं समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो भने विभिन्न साहित्यिक सङ्गठनका प्रतिनिधिहरू पनि समारोहमा उपस्थित थिए।

About Author

Advertisement