कालचिनीः अलिपुरद्वार जिल्ला पुलिसको तत्परतामा जिल्लाभरीको प्राथमिक विद्यालयहरूमा कोशिश कार्यक्रम अन्तर्गत सिभिक भोलिन्टियर्सहरूलाई प्रशिक्षण प्रदान गराएर विद्यार्थीहरूलाई दैनिक एक घन्टाको कक्षा सञ्चालन भइरहेको क्रममा आज कालचिनी थाना अन्तर्गत गंगुटिया टीजी प्राथमिक विद्यालयका विद्यार्थीहरूसँग अनि अभिभावकहरूसँग वार्तालाप गर्न अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशी आइपुगेका थिए। गंगुटिया टीजी प्राथमिक विद्यालयमा आइपुगेका जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीलाई डीएसपी हेडक्वार्टर सिमरन हल्दार लगायत कालचिनी थाना प्रभारी टीएन लामा एवम् स्कूलमा खटिएको सिभिक भोलिन्टियर्स शिक्षिका सेनुका मिजारले स्वागत जनाए पश्चात स्कूले विद्यार्थीहरूसित वार्तालाप गर्दै सिखन सामग्री, किताब, कलमहरू पुलिस अधीक्षक वाई रघुवंशीले वितरण गरेको थियो।
अभिभावकहरूसित वार्तालाप गर्दै जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले स्कूलमा पुलिस प्रशासनको पक्षबाट थप शिक्षा प्रदान गर्नलाई कोशिश कक्षा आरम्भ गरेको र यसले नानीहरूको शैक्षणिक विकास हुने र पुलिससित राम्रो सम्बन्ध कायम हुने अभिभावकहरूलाई बताएको थियो। मूलतः कोशिश कक्षाको माध्यमले नानीहरूलाई पुलिस र थानासित कुनै प्रकारको पूर्वाग्रह नरहने र यसले अझै धेरै थप स्तरको शिक्षा यिनीहरूले पाउने भएकोले हाल अलिपुरद्वार जिल्लाभरी ६६ वटा प्राथमिक विद्यालयहरूमा कोशिश कक्षा सञ्चालन भइरहेको र प्रशिक्षणप्राप्त सिभिक भोलिन्टियर्सहरूले नानीहरूलाई आधुनिक पद्धतिमा निःशुल्क ट्युशन प्रदान गरिरहेको अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले जनाएका छन्।











