सोनादा: अखिल भारतीय किराँती खम्बु राई सांस्कृतिक संस्थान सोनादा शाखाद्वारा आज सोनादा पेट्रोल पम्प नजिक आफ्नो कार्यालयमा किराँतीहरूको नयाँ वर्ष येलेदोङ ५०८३ एवं माघे सङ्क्रान्ति पालन गरेको छ। आजको यस कार्यक्रममा संस्थानका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा माङमाद्वारा विधिपूर्वक पूजा आर्चना गरी किराँती नयाँ वर्ष येलेदोङ ५०९३ एवं माघे सङ्क्रान्ति मनाएको संस्थानका सचिव बिजय थुलुङले जानकारी दिएका छन्। यस अवसरमा संस्थानका अध्यक्ष होमेन्द्र राईले सामाजिक सेवालाई पनि ध्यान दिँदै विगत लामो समयदेखि केकेआरएस सोनादा शाखालाई आफ्नो बहुमूल्य योगदान पुर्याउने संस्थानका सचिव बिजय थुलुङलाई सम्मान जनाउँदै संस्थानले आर्थिक सहयोग प्रदान गरेको होमेन्द्र राईले जनाएका छन्। तिनले थप जानकारी गराएअनुसार बिजय थुलुङ विगत केही साल अघिदेखि अस्वस्थ्य रहेका छन् र उनको खुट्टामा समस्या रहेका कारण उपचारको निम्ति आर्थिक सहयोग प्रदान गरेका हौं। यस्तो अवस्थामा पनि संस्थानलाई उनले समय दिएर संस्थानलाई बलियो बनाउने कार्य गरिरहेका छन्। उनको योगदानलाई कदर गर्दै हामीले बिजय थुलुङलाई सम्मान जनाएका हौं। होमेन्द्र राईले सबैलाई अपिल गर्दै भने, हामीले आफ्नो संस्कृति, परम्परा अनि रीतिरिवाजलाई संरक्षण गर्न पर्छ तब मात्र हाम्रो पहिचान बाँच्छ। नयाँ युवा पिँढीहरूले अब सबै सिक्नपर्छ कि संस्कृति, परम्परा अनि रीतिरिवाज नै हाम्रो सम्पत्ति हुन्। वर्तमान समयमा यी सबै लुप्त हुने कगारमा छन्। यसैकारण हामीले यसलाई संरक्षण गर्नको निम्ति कार्यक्रमको आयोजना गरेका हौं।









