खरसाङ: कथाकार अनिल राई क्षितिजद्वारा लिखित कथा संग्रह ‘थुँगाहरू’ विमोचन गरिएको छ। खरसाङ अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको बगर चर्चमा सम्पन्न एक कार्यक्रमबीच उक्त कथा कृतिको विमोचन गरिएको छ। पास्टर राजेन राईको अध्यक्षता र हनोक थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार रेभरेन्ट डा. छत्र सुब्बा पावल उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा बाईबल शिक्षिका सुसन सुब्बा उपस्थित थिइन्। एल्डर एनबी राईको शुरुको प्रार्थनाद्वारा थालिएको कार्यक्रममा पास्टर अनिल राईले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा अमर राई, साहारा लेप्चा, आनन्द होसन्ना राईले कविता पठन गरेका थिए भने रुथ राईद्वारा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा कथाकार सन्ध्या आचार्यद्वारा भारतीय नेपाली साहित्यमा कथा विधा विषयमा आफ्नो वक्तव्य राख्दै कथाकार अनिल राईको प्रस्तुतिहरू राम्रो छ, कथाहरूले प्रस्तुत गर्न खोजेको कुराहरू हामीले महसुस गरेको नै छ भनी बताइन्। उनले हाम्रो आस्था, सामाजिक स्तर र हामी कसरी बाँचेका छौं त्यसलाई बताउन अनिल राईका कथाहरू सक्षम बनेका छन् भनी बताइन्।

कार्यक्रममा सभाध्यक्ष पास्टर राजेन राई, प्रमुख अतिथि रेभरेन्ट डा छत्र सुब्बा पावल, विशिष्ट अतिथि सुसन सुब्बा, कथाकारद्वय सञ्जीव छेत्री र सन्ध्या आचार्य, कथाकार अनिल राई क्षितिज अनि उनकी पत्नी प्रनिता सुब्बाको बाहुलीबाट थुँगाहरू नामक कथा संग्रहक विमोचन गरिएको छ। अनिल राई क्षितिजद्वारा लिखित कथा संग्रह ‘थुँगाहरू’ माथि कथाकार सञ्जीव छेत्रीद्वारा समीक्षात्मक टिप्पणी राख्दै लघु आयतनका लेखनको प्रचलन धेरै लोकप्रिय हुँदै गरेको समयमा अनिल राई क्षितिजका छोटो छोटो कथाहरूका संकलन आएको छ अनि यसमा संग्रहित कथाहरू प्रस्तुतिको हिसाब र शैली शिल्पका दृष्टिकोणले चिटिक्क परेका छन् उनले बताए। आफ्नो सृजना गर्नु स्रष्टाको काम हो अनि त्यस कार्यलाई ईमान्दारीसाथ निर्वाह गर्ने, लोकप्रियताको होड़ आदिबाट टाड़ा रहेर आफ्नो सिर्जना धर्मको निर्वाह गर्ने मौन साथकको रूपमा चिन्न सकिने बताए। त्यसरी नै पत्रकार हनोक थापाद्वारा साहित्य र पत्रकारिता विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि रेभरेन्ट डा छत्र सुब्बा पावलले भारतीय नेपाली इसाई साहित्य विषयमा चर्चा गर्दै भारतीय नेपाली इसाई साहित्य र पाद्री गङ्गाप्रसाद प्रधानको योगदान साथै संगति पत्रिकाको मुख्य भूमिका विषयमा बताएका छन्। उनले साहित्यमा लाग्नेहरू साधनामा लाग्नु पर्ने र यसको लागि लेख्नुभन्दा बेसी पढ्नु पर्ने बताएका छन्। डा. छत्र सुब्बा पावलले हामीले लेख्दा पाठकहरूले रुचाउने, प्रभाव पर्ने किसिमको लेख्न पर्ने साथै कथाहरू पनि मिहिन हुँदै जानुपर्छ भनी बताए। उनले अनिल राई क्षितिजको कथा संग्रह थुँगाहरू विषयमा बोल्दै यो संग्रह लघु कथाहरू हो भन्दै यसलाई लघु कथा संग्रह मान्न सकिन्छ भनी बताएका छन्। सभाध्यक्ष पास्टर राजेन राईले वक्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन अनिल राई क्षितिजद्वारा राखिएको थियो। कार्यक्रममा अन्तिम प्रार्थना सुसन सुब्बाद्वारा गरिएको थियो भने अन्तिम आशिष डा छत्र सुब्बा पावलले मागेका थिए। आफ्नो पहिलो कथा कृति थुँगाहरू विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अनिल राई क्षितिजद्वारा विस्तृत रुपमा जानकारी गराउँदै आफ्नो कृति विमोचन कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।










