कुचबिहार: माथाभाङ्गा–कुचबिहार राज्य राजमार्गको डोलाङ मोड क्षेत्रको न्यू माथाभाङ्गा हाईस्कूल नजिक शनिबार भएको सडक दुर्घटनामा दुई मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेको नाम विक्रम बर्मन (२८) र गोविन्द राई (२५) रहेको छ। उनीहरू कोतवाली प्रहरी चौकी इलाकाका बासिन्दा हुन् । सो दिन उनी मोटरसाइकलमा माथाभाङ्गातर्फ जाँदै गरेको बताइएको छ। त्यतिबेला प्रहरी चेकजाँचका कारण त्यहाँ ड्युटीमा रहेका सिविक स्वयंसेवकले अचानक ब्यारिकेड लगाएका थिए। ब्यारिकेडसँग ठोक्किएर मोटरसाइकलसहित दुईजना सडकमा खसेका थिए। उनलाई स्थानीयले उद्धार गरी माथाभाङ्गा उपजिल्ला अस्पताल पुऱ्याएका थिए। जसमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको थियो । जबकि अर्काको माथाभाङ्गा उपजिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनापछि आक्रोशित भीडले प्रहरीविरुद्ध आक्रोश व्यक्त गर्दै सडक अवरुद्ध गरेका थिए।

सूचना पाएपछि निशिगञ्ज र घोकसडाङ्गा थानाको प्रहरी घटनास्थलमा पुगेको थियो। केहीबेरको नाकाबन्दीपछि प्रहरीको आश्वासनमा स्थिति सामान्य बनेको थियो। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले बरामद गरेको छ। माथाभाङ्गाका एसडीपीओ सुरजित मण्डलले दुईवटा शव निकालेर पोस्टमार्टमका लागि पठाइएको बताए। सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरिएको छ। स्थानीयवासी विश्वनाथ दासले दुर्घटना पीडित सडकको सट्टा ब्यारिकेड पार गर्न खोजेको बताए। त्यतिबेला ड्युटीमा रहेका सिविक स्वयंसेवकले एक्कासी ब्यारिकेडलाई बाइकतर्फ धकेले। मोटरसाइकल ब्यारिकेडमा ठोक्किएर उनी ढले।








