गान्तोक: राज्यलाई ड्रग्समुक्त बनाउने उद्देश्यले सिक्किम पुलिसले एक अभियान शुरू गरेको छ। गत केही महिना अघि शुरू गरेको यस अभियान अन्तर्गत हालसम्म धेरै ड्रग्स बिक्रेताहरू पुलिसको पञ्जामा परिसकेको छ। यसै क्रममा हिजो रम्फू पुलिसले गोसखान लाइन निवासी साङ्गे दावा शेर्पालाई ड्रग्स सहित पक्राउ गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी शेर्पाले ड्रग्सको धन्दा गर्दै आइरहेको रम्फू पुलिसलाई विश्वासनीय सुत्रले सूचना दिएको थियो। पुलिसले सोही सूचनाको आधारमा साङ्गे शेर्पाको घरमा छापा मार्ने क्रममा १०७८ लुज क्याप्सुल र १६ वटा निट्राजिपम क्याप्सुल फेला पारेको छ। आरोपीले उक्त ड्रग्स घर नजिकको जंगलमा लुकाएर राखेका थिए। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा गर्दै आरोपीलाई केरकार गरिरहेको छ।