गान्तोक: सिक्किम सरकार अधीनस्थ कार्यरत नियमित लगायत सबै अन्य श्रेणीमा कार्यरत कर्मचारीहरूले अब समान रूपमा मातृत्व र पितृत्व अवकाश प्राप्त गर्नेछन्। सिक्किम सरकारको कार्मिक विभागले यस सन्दर्भमा आज एउटा अधिसूचना पनि जारी गरेको छ। कार्मिक विभागका सचिव रिन्जिङ छेवाङ भोटियाद्वारा जारी गरिएको अधिसूचना अनुसार, सिक्किम सरकार अधीनस्थ कार्यरत एड्हक, एमआर, वर्कचार्ज, कन्सोलिडेटेड पे को टर्मिनस आदि लगायत शिक्षा विभागका परिवीक्षाधीन शिक्षक (महिला) हरूले मातृत्व अवकाशको रूपमा ३६५ दिन छुट्टी लिन सक्नेछन्। यसै गरी, सरकारी कर्मचारी (पुरुष) हरूले पनि पितृत्व अवकाशको रूपमा ३० दिनसम्म छुट्टी लिन सक्नेछन्। अधिसूचनामा मातृत्व र पितृत्व अवकाशको रूपमा दिइएको छुट्टीको अवधि अस्थायी कर्मचारीको नियुक्तिको अवधिभन्दा बढी हुनुहुँदैन भनेर पनि लेखिएको छ। उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नियमित सरह अब अस्थायी कर्मचारीहरू पनि समान मातृत्व र पितृत्व अवकाशको हकदार बन्ने घोषणा गरेका थिए।