सिलगढी: पश्चिम बङ्गालमा प्रधानमन्त्री आवास योजना (पीएमएवाई) आवन्टनमा टीएमसी सरकारमाथि सांसद राजु बिष्टले भ्रष्ट्राचारको आरोप लगाएका छन्l यसबारेमा पश्चिम बङ्गाल भाजपाले बारम्बार यस मुद्दालाई उठाउँदै आएको छ, अनि भ्रष्टाचारका यी आरोपहरूमा केन्द्रीय निकायहरूद्वारा जाँचको लागि अनुरोध गर्दै आएको उनले एक विज्ञप्ति जारी गरेर बताएका छन्। पश्चिम बङ्गालभरिका भाजपा नेताहरू तथा निर्वाचित सदस्यहरूले पश्चिम बङ्गाल सरकारद्वारा राज्यमा सत्तारूढ़ पार्टीका सदस्यहरूसँग सम्बन्धित परिवारहरूलाई मात्रै पीएमएवाई लाभहरू दिँदै वास्तविक लाभार्थीहरूलाई कसरी पन्छाइएको छ भन्ने मामिला उठाउँदै आएको उनले बताएका छन्। यसबारेमा विज्ञप्तिमा सांसद राजु बिष्टले यसो भनेका छन्, ‘उदाहरणका लागि पीएमएवाईअन्तर्गत घरहरू आवन्टन गरिसकिएका सत्तारूढ़ पार्टीसँग सम्बद्ध लाभार्थीहरूलाई फेरि लाभार्थीको रूपमा सामेल गरिँदैछ। सरकारी नोकरीमा रहे पनि सत्तारूढ़ पार्टीसँग पारिवारिक सम्बद्धता राख्ने व्यक्तिहरूलाई समेत पीएमएवाई घरहरू आवन्टन गरिएका छन्। आफ्नै कारोबार स्थापित गरेका वा नोकरी गरिरहेका अनि घरमा दुई पाङ्ग्रे वा चार पाङ्ग्रे वाहनहरू भएकाहरू, अथवा पहिलेदेखि नै कन्क्रीटका घरहरू भएका तर सत्तारूढ़ पार्टीसँग सम्बद्ध रहेकाहरूलाई समेत पीएमएवाई घरहरू आवन्टन गरिएको छl’
यसलाई लिएर हालैमा ग्रामीण विकास मन्त्री गिरीराज सिंहलाई दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रमा पीएमएवाई-ग्रामीण योजनाअन्तर्गत घरहरूको आवन्टनमा ठूलो स्तरमा भ्रष्टाचार भएको भन्दै जानकारी गराएको उनले बताएका छन्। सांसद राजु बिष्टले विज्ञप्तिमा यसो भनेका छन्, ‘यहाँ यो बताउँदा खुशी लागिरहेको छ, ग्रामीण विकास मन्त्रालयले पश्चिम बङ्गालका दार्जीलिङ, कालेबुङ, अलिपुरदुवार, मालदा, मुर्शिदाबाद, पूर्व मेदनीपुर, पश्चिम मेदनीपुर, दक्षिण २४ परगना, नाडिया अनि पूर्व बर्दवान जिल्लाहरूमा पीएमएवाईजीअन्तर्गत अनियमिततासँग सम्बन्धित शिकायतहरूको विस्तृत जाँच गर्नका लागि मन्त्रालयको प्यानलमा रहेको नेशनल लेभल मोनिटर्स (एनएलएम) का ५ टीमहरू खटाउने निर्णय गरेको छl’
‘म, पीड़ित एवं जनसाधारण, एनजीओ अनि नागरिक समाजका कार्यकर्ताहरू, शिक्षाविद, बुद्धिजीवि, युवा, एसएचजीका सदस्यहरू, समाज तथा अन्य निकायहरूलाई अनुरोध गर्दछु, यदि तपाईंहरूलाई पीएमएवाई-ग्रामीण योजनासँग सम्बन्धित यस्ता कुनै अनियमितताहरूको बारेमा जानकारी छ भने कृपया नेशनल लेभल मोनिटरिङ्ग टीमलाई त्यसबारे सूचित गर्नुहोस्। म, यस्ता कुनै घोटालाबारे जानकारी राख्ने सरकारी कर्मचारीहरूलाई पनि अनुरोध गर्दछु, राज्यमा जाँच गर्नका लागि आउने जाँच टीमसम्म सो जानकारी पुऱ्याउनुहोस्’, विज्ञप्तिमा उनले भनेका छन्। सम्पर्कका लागि उनले निम्नलिखित फोन नम्बर र ईमेल आईडी पनि जारी गरेका छन् ८८८०२२८११३ (पहाड़मा) र ९६१४३७८४९८ (तराईमा) ईमेलः rajubistabjp@gmail.coml










