मिजोरमका नेपालीभाषी गोर्खा समुदायसँग सिक्किमे पत्रकार टोलीको भेट

गान्तोक: सिक्किम सरकारको पहलमा मिजोरमको राजधानी ऐजोलमा पाँचदिने तालिममा आएका पत्रकार अनि सूचना एवं जनसम्पर्क विभागको एक प्रतिनिधि टोलीले यहाँको नेपालीभाषी गोर्खा समुदायसँग भेट गऱ्यो। यहाँको ऐजोल क्लबमा मिजोरम गोर्खा युथ एसोसिएशनका अध्यक्ष अनुप छेत्रीको अगुवाईमा सिक्किमेली टोलीलाई न्यानो स्वागत जनाउने कार्य भयो। यस सौहार्द्रपूर्ण भेट अवधि सिक्किमेली टोलीको पक्षबाट जिल्ला सूचना अधिकारी दिपेन्द्र शर्माले मुख्यमन्त्री प्रेमसिंह तामाङको सराहनीय पहलकै कारण आज आफूहरू ऐजोलमा तालिम लिन आइपुगेको अनि यस्तो भेटघाट गर्न पाइएकोबारे जानकारी गराए। भलाकुसारीको क्रममा मिजोरम राज्यमा नेपालीभाषी गोर्खा समुदायको संख्या एकदमै नगण्य रहेपनि आफूहरू १९५३-मा स्थापित मिजोरम गोर्खा युथ एसोसिएशनमार्फत एकीकृत भएर बसेको जानकारी गराए। लगभग १२ लाख जनसंख्या रहेको मिजोरम राज्यमा गोर्खाहरूको संख्या ७-८ हजार मात्र रहेको छ भने मिजोरम गोर्खा युथ एसोसिएशनमा हाल ४ हजार सदस्य रहेका छन्। यसरी कुनैपनि राज्यमा नेपालीभाषीहरूको जनसंख्याको लगभग ५० प्रतिशत एउटा सामाजिक संगठनभित्र एकीकृत भएर मिजोरमका नेपालीभाषी गोर्खाहरूले देशमै उल्लेख्य उदाहरण पेश गरेका छन्। नेपालीभाषी गोर्खाहरूमाथि आइपर्ने हरेक समस्याको सम्भवत यस संगठनले समाधान गरिरहेको उनीहरूले जानकारी गराए। कोरोना महामारीको चरम स्थितिमा मिजोरमका गोर्खाहरूको समस्या समाधानहेतू यस संगठनले सराहनीय पहल गरेको थियो। यस संगठनमा हाल एउटा एम्बुलेन्स पनि रहेको छ। यस एम्बुलेन्स गरीब विरामीहरूको निम्ति निःशुल्क सेवामा लगाइन्छ भने सक्नेहरूले तय गरिएको निम्नतम भाड़ा भुक्तान गरेर सेवा लिने गर्छन्। यसरी नै यहाँ महिलाहरूको समस्या साथै उत्थानहेतू मिजोरम गोर्खा युथ एसोसिएशनभन्दा धेरै अघि नै १९५४-मै मिजोरम गोर्खा महिला संघ गठन गरिएको थियो। यस संगठनले अझै पनि सक्रिय रूपमा कार्य गर्दै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement