दार्जीलिङको गोर्खा रङ्गमञ्च भवन अघिपट्टि तीनदिनव्यापी गोर्खा सांस्कृतिक माघे उत्सव आरम्भ

दार्जिलिङ: आजदेखि दार्जीलिङको गोर्खा रङ्गमञ्च भवन अघिपट्टि तीनदिनव्यापी गोर्खा सांस्कृतिक माघे उत्सव आरम्भ भयो। पहिलो दिन मुख्य अतिथिका रुपमा उपस्थित जीटीए सूचना एवम् सांस्कृतिक विभाग अनि सिंचाइ एवम् जलमार्ग विभागका कार्यकारी सभासद अनोश थापाको बाहुलीद्वारा यस उत्सवको विधिवत उदघाटन गरियो। यस अवधि उनीसँगै विशिष्ट अतिथिका रुपमा जीटीएका पीआरओ एसपी शर्मा, भागोप्रमो केन्द्रीय सदस्यद्वय दावा लामा अनि तिलक देवान आदि उपस्थित थिए। आयोजक उत्सव समितिको अगुवाइमा मुख्य अतिथि अनोश थापा लगायत अन्य अतिथिहरुले स्थानीय स्वनिर्भर समूहहरुद्वारा मेलामा लगाइएका सांस्कृतिक सामाग्री अनि जतीय परिकारका स्टलहरुको निरीक्षण गरे। यस अवसरमा पत्रकारहरुसितको कुराकानीमा सभासद अनोश थापाले यस प्रकारको सांस्कृतिक उत्सव गरिनुको मूल उद्देश्य गोर्खा जातिभित्रका विभिन्न जातगोष्ठीका पारम्परिक सामाग्री र परिकारबारे बाहिरकाहरुलाई चिनाउनु अनि भोकल फर लोकल भनेर वर्तमानमा जुनप्रकारले स्थानीय घरेलु उत्पाद र व्यवसायलाई प्रोत्साहन गर्नु रहेको बताए। यस प्रकारको पहलले स्थानीय युवा अनि महिलाहरुको कौशल अनि परिकल्पनालाई थप ऊर्जा र अवसर प्राप्त हुने पनि उनको भनाइ छ।

तीन दिनव्यापी सांस्कृतिक उत्सवमा विभिन्न स्वनिर्भर समूहहरुद्वारा लगाएको स्टलहरुमा विशेषगरी जातीय परिकार अनि पारम्परिक सरसामाग्रीहरुको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ। आजदेखि शुरु भएको उत्सव १४ जनवरीमा समापन हुनेछ भने भोलि जीटीए प्रमुख कार्यपाल अनित थापा अनि पर्सि अन्तिम समापन कार्यक्रममा जीटीए सभाका अध्यक्ष अञ्जुल चौहान मुख्य अतिथिका रुपमा उपस्थित रहने आयोजक समितिले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement