भारतीय हकी टीमका कप्तान हरमनप्रीत सिंह शुक्रवारदेखि शुरु भइरहेको पुरुष हकी विश्व कपमा पेनल्टी कर्नरलाई गोलमा परिणत गर्ने आफ्नो क्षमताले गर्दा आकर्षणको केन्द्र हुनेछन्। यसबीच भारतीय टीमका मुख्य प्रशिक्षक ग्राहम रीडले चाहिँ यस महत्त्वपूर्ण खेलाड़ीबाट ध्यान हटाउने योजनामाथि काम गरेका छन्। हरमनप्रीतलाई अहिले विश्वका सर्वश्रेष्ठ पेनल्टी कर्नर विशेषज्ञ मानिन्छ तर प्रशिक्षक रीड चाहिँ टीमका अन्य ड्र्याग फ्लिकर उपकप्तान अमित रोहिदास, वरुण कुमार र नीलम सञ्जीप जेसले आफ्नो कप्तानसँग जिम्मेवारी साझा गरुन् भन्ने चाहन्छन्। शुक्रवार राउरकेलामा स्पेन विरुद्ध भारतको पहिलो म्याचअघि प्रशिक्षक रीडले भने, मैले उनीमाथि (हरमनप्रीत) दबाउ छैन भन्नु झूटो कुरा हुनेछ। हामीले आफ्नो विविधतामाथि धेरै काम गरेका छौं। यसैकारण म्याचको अवधि हरमनप्रीतमाथि दबाउ कम्ती होस् भन्ने सुनिश्चित गर्न हामीले योजना बनाएका छौं। टीममा अमित, वरुण र नीलमको रूपमा अन्य ड्र्याग फ्लिकरहरू रहेका छन् अनि उनीहरूले बोझलाई साझा गर्नु पर्नेछ।
आठपल्टको स्वर्ण पदक विजेता भारतले ४१ सालपछि टोक्योमा काँस्य पदकको रूपमा ओलम्पिक पदक जितेको थियो। त्यसपछि भारतीय टीमले १९७५ पछि विश्व कपमा पनि पहिलोपल्ट स्वर्ण पदक जित्ने आशा गरिएको छ। टोक्यो ओलम्पिकमा काँस्य पदक जीतको अवधि भारतीय टीमलाई मार्गदर्शन गर्ने अष्ट्रेलियाका प्रशिक्षक रीडसँग अधुनिक हकीबारे असल जानकारी रहेको छ। उनले भने, हामीले आफ्नो प्रशिक्षणमा मुख्य रूपले परिदृश्यहरूमाथि ध्यान केन्द्रित गऱ्यौं। म्याचमा ०-१-ले पछि भए के हुनेछ, दशजना खेलाड़ीको साथ खेल्नु परे के हुनेछ अनि गोलकीपरलाई हटायौं भने के हुनेछ भन्ने कुराहरूमाथि विशेष ध्यान दिइएको छ। यस प्रकारको परिदृश्य महत्त्वपूर्ण छ अनि यसको हामीले हल निकाल्नु पर्नेछ।
ओडिशाको भुवनेश्वर र राउरकेलामा १३-देखि १९ जनवरीसम्म हुने हकी विश्व कपमा टीमबाट उनको वास्तविक प्रत्याशाहरूबारे प्रश्न गरिँदा रीडले भने, हामी परिणाममाथि अधिक ध्यान केन्द्रित गर्ने छैनौं। यो कुरा मैले पहिला पनि भनिसकेको छु। भारतले एउटा राष्ट्रको रूपमा सदा नतीजाहरूमाथि अधिक ध्यान केन्द्रित गर्छ। म्याचमा टीमको प्रदर्शन सबैभन्दा महत्त्वपूर्ण कुरा हो कारण कहिले काहीँ भाग्यले साथ दिनु पनि महत्त्वपूर्ण हुन्छ। रीडले अझ भने, टुर्नामेण्टमा पहिलो म्याच सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यसैकारण अहिले हाम्रो पूरा ध्यान स्पेन विरुद्ध खेलिने म्याचमा रहेको छ। त्यसपछि अन्य म्याचहरू बारे सोच्ने छौं। प्रशिक्षकको रूपमा मेरो काम खेलाड़ीहरूका ध्यान केन्द्रित गर्नु हो। त्यसपछि परिणाम आफै अघि आउनेछ। जे भए पनि ओलम्पिक र राष्ट्रमण्डल खेलहरूमा पदक जितेपछि भारत जस्तो देशको निम्ति विश्व कप जित्नु असाधारण कुरा हुनेछ। उल्लेखनीय छ, विश्व कपमा भारतसँग ग्रुप डी-मा स्पेन, ईंग्ल्याण्ड र वेल्स रहेको छ।









