खरसाङ: तीनधारे महानदी समष्टिको सिविटार अन्तर्गत बाघमारा बस्तीमा भईरहेको चार दिवसीय कृषि बागवानी मेलाको तेस्रो दिन सुन्तला खेती र च्याऊ खेती विषयमा सचेतना शिविर सम्पन्न भएको छ। यस सचेतना शिविरमा स्थानीय कृषकहरूलाई लिएर विभागीय पदाधिकारीहरूले सुन्तला खेती र च्याऊ खेती विषयमा सचेतना गराएका छन्। यस क्रममा सुन्तला खेती विषयमा सिन्कोना प्लान्टेशन मन्सोङका म्यानेजर ईन्चार्च डा नयन थापाले उपस्थित सुन्तला कृषकहरूलाई सुन्तलामा लाग्ने रोग विषयमा सचेतना गराएका छन्। उनले सुन्तला खेतीमा हुने विभिन्न विषयहरू लगायत सुन्तलामा लाग्ने विभिन्न रोगहरूका जानकारीसितै यसको निवारण अनि रोकथामको उपायहरू विषयहरूमा पनि जानकारी गराएका थिए। यसावधि उनले शिविरमा उपस्थित कृषकहरूसित सुन्तला खेती र विभिन्न रोगहरू विषयमा अन्तरक्रिया पनि गरेका थिए। यसावधि कृषकहरूले विभिन्न प्रश्वहरू पनि गरेका थिए। उनीसितै अफिस इन्चार्च प्रकाश प्रधान पनि उपस्थित रहेका थिए। पछिबाट पत्रकारहरूसित कुराकानी गर्दै डा नयन थापाले आज सुन्तला खेती विषयमा प्रशिक्षण शिविर नभएर सचेतना आयोजना गर्न सकेको र सुन्तला खेती विषयमा लामो समय लगाएर प्रशिक्षण गराउन आवश्यक रहेको बताएका छन्। उनले अहिले सुन्तला खेती विस्तारै सकिन्दै गईरहेको कारणले यसमाथि कार्य गर्न आवश्यक रहेको बताएका छन् भने सुन्तला खेती विषयमा अहिले सिन्कोना विभागले पनि कार्य गरिरहेको बताएका छन्।
बाघमारा बस्तीमा भईरहेको चार दिवसीय कृषि बागवानी मेलाको तेस्रो दिन च्याऊ खेती विषयमा पनि सचेतना शिविर सम्पन्न भएको छ। बागवानी विभागको जुनियर सेन्टिफिक अफिसर निशन भोटियाले उपस्थित कृषकहरूलाई च्याऊ खेती विषयमा सचेतना गराएका छन्। उनले च्याऊ खेती विषयमा सचेतना शिविर मात्रै आयोजना गरेको र निकट भविष्यमा यहाँ आएर च्याऊ खेती विषयमा व्यवहारिक रूपमा प्रशिक्षण गराएर च्याऊ खेती गर्न चाहाने कृषकरूलाई सर सामानहरू पनि वितरण गरिने जानकारी गराएका छन् । उनले च्याऊ खेतीसितै कफी खेती विषयमा पनि कृषकहरूलाई जानकारी गराएका छन्। यसावधि उपस्थित कृषकहरूसित च्याऊ र कफी खेती विषयमा अन्तरक्रिया पनि गरेका थिए। उनीसितै बागवानी विभागको सिनियर टेक्निकल सहायक पवन प्रधान उपस्थित रहेका थिए। शिविरपछि पत्रकारहरूलाई सम्बोधन गर्दै च्याऊ खेती विषयमा जुनियर सेन्टिफिक अफिसर निशन भोटियाले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले यस क्षेत्रको कृषकहरूको लागि बागवानी विभागको तर्फबाट विभिन्न सहुलियतहरू पनि पाउने र यसको लागि बागवानी विभाग दार्जिलिङमा सम्पर्क गर्न सकिने पनि जानकारी गराएका छन्।










