खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा भईरहेको चार दिवसीय कृषि बागवानी मेलाको तेस्रो दिन सम्पन्न सांगीतिक र सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको मातृ एंव शिशु कल्याण विभागकी कार्यकारी सभासद एंव पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको सभासद कल्पना प्रधान उपस्थित रहेका थिए। मेलाको तेस्रो दिन तीनधारे महानदी समष्टिको विभिन्न स्थानीय कलाकरहरूले प्रस्तुति दिएका थिए भने सिविटार शिवखोलाको स्थानीय म्युजिकल ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीए बागवानी विभागको एमओडी मनोनित सभासद प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव, समष्टिको सांगठनिक सचिव उत्तम छेत्री, बिपन विश्वकर्म, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई लगायत अन्यहरू उपस्थित रहेका थिए। मेलाको तेस्रो दिन मुख्य अतिथिको रूपमा उपस्थित जीटीएको मातृ एंव शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानले विभिन्न स्टलहरूको निरीक्षण गरेका थिए। उनले मेलामा स्वनिर्भर दलहरूद्वारा राखिएको दोकानहरूतिर पुगेर सर सामानहरू किनेर प्रोत्साहन पनि गरेकी थिइन्।

त्यसरी नै उनले जातीय खानपान र विभिन्न प्रकारका स्टलहरूको निरीक्षण पनि गरेका थिए। बाघमारा बस्तीमा भईरहेको चार दिवसीय कृषि बागवानी मेला बिहीबार समापन हुने भएको छ। समापनको दिन मुख्य आकर्षणको रूपमा प्रसिध्द गायक जितेन लेप्चाले प्रस्तुति दिने भएको छ। यसको साथै म्यूजिक तीनधारेको लाइभ सांगीतिक प्रस्तुति रहने भएको छ। गत 9 जनवरीदेखि बाघमारा बस्तीमा चलिरहेको चार दिवसीय कृषि बागवानी मेलामा तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूबाट मानिसहरू आएर आनन्द लिईरहेका छन्।










