ओपनर पृथ्वी सावको असाधारण फर्म जारी छ। असम विरुद्ध मुम्बईका यस आक्रामक ओपनिंग ब्याटरले ३८३ बलमा ३७९ रन बनाए। यस अवधि उनले ४९ वटा चौका र ६ वटा छक्का लगाउनको साथै आफ्नो म्याराथन ईनिंग्समा केही रेकर्ड पनि बनाए। उनी रणजी ट्रफीको इतिहासमा सर्वाधिक स्कोर बनाउने दोस्रो ब्याटर बनेका छन्। उनले सञ्जय माञ्जरेकरको रेकर्ड तोड़े। माञ्जरेकरले हैदराबाद विरुद्ध अविजित ३७७ रन बनाएका थिए। रणजी ट्रफीमा सर्वाधिक स्कोरको रेकर्ड बीबी निम्बलकरको नाममा रहेको छ, जसले ७५ साल अघि सौराष्ट्र विरुद्ध अविजित ४४३ रन बनाएका थिए। पीचमा सजिलै रन बटुलिरहेको हुनाले पृथ्वीले निम्बलरकरको रेकर्ड पनि तोड़्ने छनक देखिएको थियो तर उनी रियान परागको बलमा एलबीडब्ल्यू आउट भए। पृथ्वी रणजी ट्रफीको इतिहासमा मुम्बई टीमको सर्वाधिक स्कोरर पनि बने। बुधवार म्याचको दोस्रो दिन उनले २४० रनदेखि अघि खेल्न शुरु गरे अनि चाँड़ै ट्रिपल सेञ्चुरी पूरा गरे। पृथ्वीले कप्तान अजिंक्य रहाणे (अविजित १३१ रन)-सँग तेस्रो विकेटको निम्ति ४०१ रनको ऐतिहासिक साझेदारी गरे।
दाहिने हातका ब्याटर पृथ्वीले घरेलु क्रिकेटमा आफ्नो पहिलो ट्रिपल सेञ्चुरी केवल ३२६ बलमा बनाए अनि त्यसपछि गियर बद्लिएर १००-को स्ट्राईक रेटले रन बनाउन थाले। यस २३ वर्षीय ब्याटरले मुम्बईको निम्ति महान सुनिल गावस्करको ३४० रनको रेकर्ड तोड़े। त्यसपछि उनले टेस्ट विशेषज्ञ चेतेश्वर पुजारा र भीभीएस लक्ष्मणलाई पनि पछि छोड़े। पुजाराले रणजी ट्रफीको २०१२-१३ सीजनमा कर्नाटक विरुद्ध सौराष्ट्रको निम्ति ३५२ रन बनाएका थिए। यसरी नै लक्ष्मणले १९९९-२००० सीजनमा हैदराबादको निम्ति कर्नाटक विरुद्ध ३५३ रन बनाएका थिए। यसपाली पृथ्वीले रेकर्ड ईनिंग्सको साथ भारतीय टीममा प्रवेशको बाटो फराकिलो बनाएका छन्। उनले भारतीय टीमबाट अहिलेसम्म पाँचवटा टेस्ट म्याच खेलेका छन्। उनले आफ्नो अन्तिम टेस्ट म्याच अष्ट्रेलिया विरुद्ध २०२०-मा खेलेका थिए।











