गान्तोक: सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीले सङ्घ विधायक एवं मन्त्री सोनाम लामाले एसडीएफ अध्यक्ष पवन चामलिङ विरुद्ध दिएको बयानको खण्डन गरेको छ। मन्त्री लामाले आफ्नो प्रतिष्ठित पदको गरिमा विरूद्ध काम गरेको पनि एसडीएफले आरोप लगाएको छ।
एसडीएफ प्रवक्ता जेबी दर्नालले गत वर्ष ३० दिसम्बरको दिन उत्तर सिक्किमको जङ्गुस्थित नामप्रिकदाङमा आयोजित नामसुङ उत्सवमा सङ्घ विधायक तथा मन्त्री सोनाम लामाले एसडीएफ अध्यक्ष विरूद्ध अपशब्दहरू बोलेको आरोप लगाए। सङ्घ विधायक लामाले पवित्र ठाउँमा अपवित्र वचनहरू बोलेको बताउँदै एसडीएफ पार्टीले यसको खण्डन गर्दछ भनी उनले बताए। उनले बोलेका कुराहरूलाई लिएर मानिसहरूमा व्यापक असन्तुष्टि पनि देखा परिरहेको उनले बताए।प्रवक्ता दर्नालले भने, मन्त्री सोनाम लामाले पहिलोपल्ट अथवा झुक्किएर यस्तो बोलेका होइनन् । भूलवश बोलेको भए ठिकै थियो, तर उनले जानी जानी बोलेका हुन्। पहिला एसकेएम पार्टी विपक्षमा हुँदा पनि उनले यसरी बोलेका थिए यो कुनै नौलो कुरा होइन, यो एसकेएम पार्टीको असली अनुहार हो, असली रूप हो। उनले मन्त्री सोनाम लामाले यसरी बोल्दा कसैको भलो हुँदैन भन्दै उनलाई यस्ता कार्यक्रमहरूमा नजाने बिन्ती पनि गरे। मन्त्री लामा सङ्घ विधायक पनि रहेकाले के उनले यसरी बोल्नु सही हो भनी दर्नालले प्रश्न गरे। उनले मन्त्रीलाई ऑट छ भने फेरि यसरी बोलेर देखाउने चुनौती पनि दिए। पवन चामलिङले केही गरेका छैनन् भन्ने मन्त्री लामाको आरोपको खण्डन गर्दै उनले एसडीएफ सरकारकालमा धार्मिक क्षेत्रहरूमा भएका विकास कार्यहरूमाथि प्रकाश पारे। यसै क्रममा उनले आईपीआर विभागद्वारा प्रकाशित एउटा तथा अन्य एउटा पुस्तक मन्त्री लामालाई पठाइदिने बताए,जसमा चामलिङका उपलब्धिहरू उल्लेखित छन्। उनले मन्त्री लामालाई १७ औं कर्मापा सिक्किम ल्याउने एसकेएमको घोषणा के भन्दै एसकेएम आफ्नो दिशा भट्ट्कसकेको आरोप लगाए। एसकेएम विपक्षमा छँदा विधानसभामा नेपाली सीट पुनर्बहालको मुद्दा उठाएको सम्झाना गराउँदै आज सत्तामा आएपछि सबै बिर्सिएको उनले बताए।









