लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-को तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा लोप्चुको ११ माईल चर्चले फाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा बुधवार भएको रोमाञ्चक सेमिफाइनल म्याचमा ११ माईल चर्चले खरसाङको मिक्स्ड अप् बोइजलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मार्टिन र आमिर लामाले १-१ गोल गरे। म्याचमा दुवै टीमका एक एकजना खेलाड़ी (वतन अनि शिव राउत)-लाई रातो कार्ड देखाइयो। ११ माईल चर्चका गोलकीपर रिशप छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,०० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









