रेड कार्ड टू अफ् साइडः फूटबल खेलमा सुधार ल्याउन पीबी छेत्रीको शोध

IMG-20230110-WA0157.jpg

फूटबलको वैश्विक सञ्चालन संस्था फीफा-को नियमहरूलाई लिएर विभिन्न समयमा आलोचना हुँदै आएको छ। कतरमा हालै सम्पन्न फीफा विश्व कपमा पनि केही नियमहरूले गर्दा खेल र खेलाड़ीहरू मात्र नभएर खेलप्रेमीहरू पनि प्रभावित बने। यसमा उल्लेखनीय रह्यो अफ् साइडको नियम। यसै अफ् साइडको नियम अनि यसमा संशोधनको निम्ति सुकना निवासी पीबी छेत्रीले आफ्नो शोध प्रकाशित गरेका छन्। सेवानिवृत अधिकारी तथा लेखक पीबी छेत्रीले सोमवार सुकनाको कम्युनिटी हलमा पत्रकार भेला आयोजन गरी आफ्नो शोधबारे विस्तृत जानकारी दिए। यस अवसरमा सुकना गेम्स एण्ड स्पोर्टस एसोसिएशनका महासचिव सुरेन प्रधान, पूर्व अन्तर्राष्ट्रिय फूटबलर राजेन गोले अनि हिमालय दर्पणका प्रधान सम्पादक शिबु छेत्रीको विशेष उपस्थिति रहेको थियो। वरिष्ठ नागरिक गजेन्द्र छेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरूलाई स्वागत गरिएपछि हालै निधन हुने महान फूटबलर पेलेको सम्मानमा उनको तस्वीरमा माल्यार्पणको साथ मौन धारण गरियो। त्यसपछि मुख्य कार्यक्रममा पीबी छेत्रीले आफ्नो शोधबारे जानकारी दिए। फीफाले सालौं अघि बनाएको अफ् साइडको नियमले कसरी खेलमाथि नराम्रो प्रभाव पारिरहेको छ भन्ने पनि उनले बताए। फीफा विश्व कपको अवधि कुनै खेलाड़ीको शरीरको कुनै हिस्सा अनि जर्सी बाहिर रहे त्यसलाई अफ् साइड घोषित गरियो। यस्तो फसेलाले गर्दा म्याचहरूमा अधिक गोल हुन नसकेको अनि म्याच निरस बनेको उनले बताए। उनले भने, अफ् साइडको गलत नियमले गर्दा स्ट्राईकरहरू गोलको निम्ति आक्रमणमा जान पनि डराइरहेका छन्। वास्तवमा अफ् साइड खेलाड़ीको खुट्टाको स्थिति हेरेर दिनु पर्छ। यसैकारण यसमा संशोधन हुनु जरूरी छ। यसरी नै ब्याक पासको नियममा पनि संशोधन जरूरी छ। वर्तमान नियमले गर्दा खेल निरस बनेको छ।
यसअघि क्रिकेट खेलको नयाँ प्रारूपलाई लिएर पनि टेनर क्रिकेट नामक पुस्तक प्रकाशित गरिसकेका पीबी छेत्रीले विश्व कपको प्रारूपलाई लिएर पनि प्रश्न उठाए। उनले भने, फीफा विश्व कप अहिले मुख्य रूपमा आठवटा देशको पेवा बनेको छ। यसमा ल्याटिन अमेरिकाबाट ब्राजील र अर्जेण्टिना सामेल छ। यसबाहेक यूरोपका केही देशहरू सामेल छन्। फीफाको सदस्य संख्या २११ रहेको छ अनि अन्य सबै देशहरू टुर्नामेण्टमा नाम लेखाउन मात्र जाने हुन्छ। धेरैपल्ट त विश्व कप पनि यूरो कप जस्तै लाग्छ। यस्तो स्थितिमा फीफाले आफ्नो परिधिलाई बढ़ाउनु पर्नेछ। अफ्रिका र एशियाबाट अधिक संख्यामा देशहरूले मौका पाउनु पर्नेछ।

दिग्गज सुनिल छेत्री जस्ता खेलाड़ीको उपस्थितिमा पनि भारतले विश्व कपमा हिस्सा लिने मौका नपाउनु दुर्भाग्यपूर्ण कुरा हो। उनले अमेरिका, मेक्सिको र कनाडाको संयुक्त आयोजनमा हुने आउँदो विश्व कपको फिक्स्चरबारे पनि आफ्नो विचार अघि राखे।आफ्नो एनालिटिकल स्टडी पेपरहरू स्विट्जरल्याण्डको ज्यूरिख स्थित हेड क्वार्टर सहित अन्य १८ वटा संस्थालाई पठाएको पनि पीबी छेत्रीले जानकारी दिए। यसमा आईओसी (लुसाने), आईएफएबी (ज्यूरिख), यूईएफए, एएफसी, सीएएफ, कनकाकाफ, कोनमेबोल, ओसियाना, ईंग्ल्याण्ड एफए र एआईएफएफ पनि सामेल छ। आफ्नो शोधले खेलको नियमहरूमा संशोधन गर्नमा सामान्य पनि सहायता पुगे खेल र खेलाड़ीहरूलाई धेरै फाइदा पुग्ने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement