गान्तोक: सफलताको एक खुड्किलो उक्लदै कालेबुङ जिल्ला अन्तर्गत गितडब्लिङ ग्राम पञ्चायत क्षेत्र अधिनस्थ माजोङ डाँडा गाँउकी पन्दीमित लेप्चा कोलकाताको प्रतिष्ठित फुटबल क्लब मोहम्मदिन स्पोर्टिङसँग अनुबन्धित भएकी छिन्। यसभन्दा पहिले खरसाङ फुटबल एसोसिएशनबाट प्रशिक्षण प्राप्त गरि पन्दीमितले सेतु फुटबल क्लबलाई प्रतिनिधित्व गर्दै तामिलनाडु लिगमा समेत सहभागी भईसकेकी छिन्। ग्रामीण क्षेत्रमा प्रतिभाको कमी छैन। कति सानिया मिर्जा र पिटी उषाहरू यहाँ घाँस दाउरा गर्छन्, खेतालापातमा व्यस्त छन्। कति मेरिकमहरूले चुल्हा चौकाबाट फुर्सद पाउदैनन्। केवल दक्षता पहिचान गर्ने जिम्मेवार निकायको आवश्यक्ता रहेकोबेला लेप्चाले यस्तो प्रसिद्धि पाएकी छन्। मनमा जोश, जाँगर र आत्मविश्वास भए जस्तै प्रतिकूल अवस्थालाई पनि उछिनेर सफलताको शिखर चुम्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण उनले पेश गरेकी छन्। आजसम्म गाडी नपुगेको गाउँ गितडब्लिङको माजोङ डाँडाकी पन्दिमित लेप्चाले भारतकै सबैभन्दा प्रतिष्ठित मानिने मोहम्मडन स्पोर्टिङ्ग क्लबमा सामेल हुने अवसरले आफु र आफ्नो परिवारको मात्र नभई सम्पूर्ण गितडब्लिङलाई नै गौरवान्वित तुल्याउन सफल बनेकी छिन्। क्षमता भएर पनि अनेकौ अभाव, आवश्यकता र भौगोलिक विकटताका कारण हिन भावनाले ग्रसित युवाका लागि प्रेरणाको स्रोत भएकी छन्। सिक्किमकी छोरीहरु मुस्कान सुब्बा सेतु फुटबल क्लब तामिलनाडुबाट अनि लक्ष्मी तामाङ र गिर्मीडोल्मा तामाङ मोहम्मदिन स्पोर्टिङ क्लब कोलकाताबाट इन्डियन वुमेन लिगको लागि अनुबन्धित भइसकेकी छन्।