पक्कीगाउँ विद्यालयको कौस्तुभ जयन्ती तयारीबारे समीक्षा सभा सम्पन्न

IMG-20230108-WA0324.jpg

सोरेङ: सरकारी माध्यमिक विद्यालय पक्कीगाउँले आफ्नो स्थापनाको ७५औं वर्षगाठ पूरा गरेको ऐतिहासिक अवसरलाई केन्द्र गर्दै पाँच दिवसीय कौस्तुभ जयन्ती विविध कार्यक्रमको साथमा आयोजना गर्ने भएको छ। कौस्तुभ जयन्ती समारोह समिति पक्कीगाउँको तत्वावधानमा आउँदो फरवरी महिनाको २१ तारिखदेखि २५ फरवरीसम्म कौस्तुभ जयन्तीको दोस्रो दिनको कार्यक्रममा सम्पन्न हुनेभएको हो।

कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह गोलेले पनि उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित रहने जानकारी गराइएको छ।

यसै जयन्तीको तयारी विषय लिएर आज सेवानिवृत्त सचिव डीबी रावतको अध्यक्षतामा समिक्षा बैठक सम्पन्न भयो। सभामा सोरेङ जिल्ला अन्तर्गत शिक्षा विभागका संयुक्त निर्देशक एसपी शर्मा, सम्बन्धित विद्यालयकी प्रधानाध्यापिका मञ्जु तामाङ, कौस्तुभ जयन्ती समारोह समितिका अध्यक्ष केबी भण्डारीसहित सम्पूर्ण कार्यकरणी सदस्यहरू लगायत सचेत नागरिकको उपस्थिति थियो।

सोरेङ च्याखुङ समष्टि अन्तर्गत पुरानो स्कुलहरु मध्ये एउटा विद्यालय पक्कीगाउँले ७५ वर्षको लामो यात्रामा वरिष्ठ सरकारी अधिकारी, अनगिन्ती सरकारी कर्मचारी, साहित्यकार, कलाकार, उद्यमी, खेलाडी, पत्रकार, जनप्रतिनिधि साथ साथै नागरिक समाजका प्रबुद्ध व्यक्तत्वहरु जन्माएका छन्। सिक्किम कै सन्दर्भमा भन्नुपर्दा राज्यको विकासमा पक्कीगाउँ स्कुलको भूमिका र योगदान माथिल्लो स्तरको छ। पक्कीगाउँ विद्यालयबाट शिक्षार्जन गरेका अनि उक्त विद्यालयमा आबद्ध सबै जनमानसहरुको निम्ति यो अत्यन्तै सुखद् र ऐतिहासिक क्षण हो। सिक्किम र सिक्किमे समाजको विकासका निमित्त अतुलनीय र स्मरणीय गाथा बोक्ने राज्य कै एउटा ऐतिहासिक शैक्षिक संस्थान पक्कीगाउँ स्कुलको कौस्तुभ जयन्तीलाई सफल बनाउन सबै अलुम्नीहरुलाई कौस्तुभ जयन्ती समारोह समितिले अपिल गरेका छन्।

कौस्तुभ जयन्तीलाई भव्य स्वरूप प्रदान गर्न विविध कार्यक्रम सँगसँगै खेलकूद, हाजिरी जवाफ, तर्क, हस्तकला र नृत्य प्रतियोगिता पनि समावेश गरिएको जानकारी आयोजक समितिले दिएको छ। खेलकूद अन्तर्गत हिल्स ओपन भलिबल टुर्नामेन्टलाई पनि प्रमुख आकर्षणको रूपमा समावेश गरिएको जानकारी खेलकूद समितिका अध्यक्ष गणेश सुब्बाले गराएका छन्। टुर्नामेन्टका विजेता टिमलाई नगद राशि दुई लाख रुपियाँ र उपविजेता टिमलाई एक लाख पचास हजार रुपियाँसहित आकर्षक ट्रफी र अन्य पुरस्कारहरु पनि खेलाडीहरुलाई प्रदान गरिने भएको छ। विशेष हिल्स ओपन भलिबल टुर्नामेन्टमा सहभागिता जनाउन इच्छुक दलले आउँदो २ फरवरी भित्रमा खेलकुद समितिका अध्यक्ष गणेश सुब्बालाई सम्पर्क गरिदिने पनि आयोजकले अपिल गरेका छन्। यसरी नै खुल्ला म्याराथन पनि आयोजना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement