खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नव ज्योति संघ चुनभट्टीको आयोजनामा सम्पन्न भईरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको उपाधि मित्र संघ गोलाई पाखा तीनधारेले जितेको छ। अाज सम्पन्न फाइनल खेल महानदी र मित्र संघ गोलाई पाखा तीनधारेमाझ सम्पन्न भएको थियो। महानदीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको कारणले मित्र संघले पहिला व्याटिङ गर्दै निर्धारित बीस ओभरमा १५३ रन बनाएर १५४ रनको लक्ष्य दिएको थियो। मित्र संघको पक्षबाट ओपनर जोड़ी राजीव प्रधान र मानव रोयले राम्रो शुरुवात गर्दै टिमलाई राम्रो रनतर्फ लगेका थिए। मित्र संघको पक्षमा ओपनर जोड़ी राजीव प्रधानले ४३ अनि मानव रोयले ४२ रन बनाएको थियो। महानदीको पक्षबाट योगेन कार्कीले ३, कप्तान जयन्त जैसवालले २ र चेतनले १ विकेट लिएका थिए। १५४ रनको लक्ष्यलाई खेदो गर्दै महानदीले निर्धारित २० ओभरमा केवल १४३ रन मात्र बनाउन सकेको कारणले मित्र संघ गोलाई पाखा तीनधारेले महानदीलाई १० रनले पराजित गर्दै बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको उपाधि जित्न सफल भएको छ। गत २४ दिसम्बरदेखि शुरु भएको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्ट रहेको थियो। आजको फाइनल खेलमा ३२ बलमा ४२ रन बनाउने मानव रोय म्यान अफ् द म्याच चयन भएका थिए। टुर्नामेन्टमा बेस्ट क्याच लिंकन क्लब सिपाहीधुराको संगम प्रधान, सर्वाधिक विकेट लिने नव ज्योति संघ चुनभट्टीको बिजेन्द्र प्रधान, सर्वाधिक रनदाता नव ज्योति संघको खेलाड़ी रञ्जित थापा र फेयर प्लेयर विकास ईलेभेन चयन भएका छन्। आजको फाइनल खेलमा सभाध्यक्षको रूपमा नव ज्योति संघ चुनभट्टीको सभापति मनोहर थापा अनि मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए।
यस विषयमा नव ज्योति संघको संयोजक रञ्जित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै ४ दिसम्बरदेखि शुरु भएको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको आज फाइनल खेल सम्पन्न भएको छ। बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट आयोजना गरिनुको उद्देश्य विषयमा बोल्दै बाबु प्रसादको नाम राजेस प्रसाद रहेको र उनले नव ज्योति संघ चुनभट्टीको पक्षबाट धेरै क्रिकेट म्याच खेलेको अनि उनले मिठाईडाँड़ा खेल मैदानमा व्यक्तिगत १०९ रन बनाएर अहिलेसम्मकै रिकर्ड रहेको र उनले एक ओभरमा छवटै चौका पनि हिर्काएको पनि जानकारी गराएका छन्। उनै क्रिकेटर बाबु प्रसादको ४३ वर्षको उमेरमा निधन भएको कारणले परिवारसित मिलेर बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको बताएका छन्। आजको खेलमा नव ज्योति संघको पक्षबाट भेटरेन क्रिकेट खेलाड़ीहरू प्रेमसाङ तामाङ, रबीन थापा, अञ्जन सिहं घतानी र अन्यलाई सम्बर्ध्दना पनि जनाइएको थियो भने तीनधारे पुलिस आउट पोष्टको ओसी मानव रोयलाई पनि सम्मान जनाइएको थियो। सबैलाई मुख्य अतिथि सभासद नवराज छेत्रीको बाहुलीबाट खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको थियो। आजको फाइनल खेलमा निर्णायकको रूपमा मनोहर थापा र अमीर राई रहेका थिए। फाइनल खेलमा विशिष्ट अतिथिको रुपमा बिनयकुमार छेत्री, बाबु प्रसादको दाजु कृष्ण प्रसाद, पूर्व खेलाड़ी रबीन थापा, साजन दर्जी, धर्मराज राणा, समीर प्रधान, भागोप्रमो चुनभट्टी दुई नम्बर बुथका सचिव प्रकाश सार्की, युवा सभापति रबीन प्रधान, सिराज थापा, लगायत अन्यहरू उपस्थित रहेका थिए। यस बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको म्यान अफ् द टुर्नामेन्टमा ८० रन बनाएर ९ विकेट पनि लिने नव ज्योति संघ चुनभट्टीको बिजेन्द्र प्रधानलाई म्यान अफ् द सिरिज चयन गरिएको छ।