ओबेसी, केजरीवाल, ममता ब्यानर्जीमाथि शंकर मालाकारको कटाक्ष
टीआरआई समाचार
खरसाङ: ‘भारत जोडो यात्रा’ले देशभरका कांग्रेस कार्यकर्ताहरू र समर्थकहरूमा नयाँ जोशका साथ उर्जा संचार भएको छl यही ‘भारत जोडो यात्रा’को अर्को पाटा ‘सागरदेखि पहाड’ गत २८ दिसम्बर २०२२ देखि गंगासागरबाट शुरु भएको छl यो यात्रा यसै महिना पहाडको प्रमुख ठाउँ खरसाङमा आइपुग्नेछl कांग्रेसको यस यात्राले पहाडका कांगेसीहरूमा पनि नयाँ उर्जा संचार भएको छl यसमा विशेष रुपले कांगेसका राष्ट्रिय अध्यक्ष मल्लिका अर्जुन खड्गे, प्रियंका गान्धी, अधीररञ्जन चौधरीलगायत अन्य राष्ट्रिय नेताहरू २३ जनवरीमा खरसाङ आउने भएका छन्l यसबारेमा प्रदेश कांग्रेस कमिटीका कार्यकारी अध्यक्ष दार्जीलिङ जिल्ला कांग्रेसका अध्यक्ष पूर्व विधायक शंकर मालाकारले बताएका छन्l आइतबार २३ जनवरीको तयारीको लागि साथै सांगठानिक विस्तारको लागि खरसाङ टाउन कांग्रेस कमिटीका अध्यक्ष लायकराम गुप्तको वासस्थानमा विशेष सभा सम्पन्न भएको थियोl यस सभामा खरसाङ, दार्जीलिङ, सिलगढी र कालेबुङ जिल्लाका कांगेस कार्यकर्ताहरू भेला भएका थिएl

सभा पछि शंकर मालाकारले पत्रकारहरूलाई बताएअनुसार २३ जनवरी नेताजी सुवासचन्द्र बोसको जन्मदिन परेको हुनाले साथै खरसाङमा अंग्रेज शाषकले उनलाई नजरबन्दी बनाएर राखेका हुनाले खरसाङलाई चयन गरेको होl २१ जनवरीको दिन सो यात्रा विधाननगर आइपुग्नेछ र त्यसदिन बागडोग्रामा राति बस्नेछl २२ जनवरीको दिन सिलगढीमा राति बसेर २३ जनवरीको दिन बिहान डागापुर खेल मैदानमा भेला भएर ५५ राष्ट्रिय राजमार्ग हुँदै खरसाङको गिद्ध पहाड स्थित नेताजी इन्स्टिच्युटमा आइपुग्नेछl त्यहाँबाट पदैल खरसाङ मोटर स्ट्याण्डमा आएपछि जनसभा हुने जानकारी शंकर मालाकारले दिएका छन्l यसमा सहभागी हुनाका लागि गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, हाम्रो पार्टीलाई निमन्त्रणा गरिने उनले बताएका छन्l जीटीएका मुख्य कार्यपाल अनित थापालाई सरकारी पदमा रहेका हुनाले उनलाई र उनका पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई निमन्त्रणा नगरिने उनले बताएl उनले अनित थापालाई टीएमसी सुप्रिमो एवं मुख्यमन्त्री ब्यानर्जीको टीएम बताएl अन्य अल्पसंख्यक संगठनहरूलाई पनि निमन्त्रणा गरिने शंकर मालाकारले बताएl देशमा बढ्दो महंगाई, सरकार सम्पत्ति बिक्री, नोटबन्दीको असरको विरोधमा अनि देशभर साम्प्रदायिक सद्भावना कायम राख्न भारत जोडो यात्राको उद्देश रहेको उनको भनाइ छl भाजपा सरकारको आलोचना गर्दै उनले भने, ‘गोदी मिडियाले मोदीलाई रामको अवतार बनायोl देशमा ग्यासको मूल्य ११ सय नाघ्यो, तेल दुई सय रुपियाँ पुग्यो, महिलाको सुरक्षा छैनl’ टीएमसीलाई भाजपाकै अर्को टीएम बताउँदै शंकर मालाकारले भने, ‘गोवामा गएर कांग्रेसकै भोट काट्योl भाजपाको एउटी बहिनी बहिनी ममता ब्यानर्जी दुईजना भाई एउटा ओबेसी (असद्दुदीन) र अर्को केजरीवाल (दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल) छl भाजपा विरोधी शक्तिलाई विभाजन गरेको छl दिदीले मोदीको काम गर्छ, मोदीले दिदीको काम गर्छl’
गोर्खाल्याण्डको सन्दर्भमा कांग्रेसको धारणा बारेमा प्रश्न गर्दा यदि कसैले आफ्नो जातिको अधिकारको माग गर्दैछ भने गोर्खाल्याण्डको लागि लड्नेहरूलाई समर्थन रहेको उनले बताएl दार्जीलिङ पहाडमा भाजपाले आजसम्म केही पनि नगरेको उनको भनाइ छl कांगेसको पालामा नै दार्जीलिङ गोर्खा पार्वत्य परिषद गठन, जीटीए गठन भएको, नेपाली भाषाले मान्यता प्राप्त गरेको, पहाडमा आईटीआई स्थापित भएको, मिरिकमा लेक विकास भएको उनले बताएl चीन र पाकिस्तानले दिनहुँ ठोकिरहेको छ तर गोदी मिडियाले सत्य कुरा उजागर नगरेको उनले बताएl २३ जनवरीको लागि जिल्लापाल र महकुमा अधिकारीलाई अनुमति मागेको उनले बताएका छन्l पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा शंकर मालाकारको साथमा दार्जीलिङ जिल्ला कांग्रेसका कार्यकारी अध्यक्ष सरोज खत्री, खरसाङ टाउन कमिटीका अध्यक्ष लायकराम गुप्त, कालेबुङ जिल्ला कांग्रेसका अध्यक्ष दिलीप प्रधान, कालेबुङ जिल्ला कांग्रेसका कार्यकारी अध्यक्ष बशीर अहमद उपस्थित थिएl