गान्तोक: आगामी २६ जनवरीको दिन पालन गरिने गणतन्त्र दिवस तयारीलाई लिएर आज नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा एक सभा सम्पन्न भयो। नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको यस सभामा अतिरिक्त जिल्लापाल अनन्त जैन, महकुमा अधिकारी महेन्द्र छेत्री, एसडीपीओ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल एम भरानी कुमारले गणतन्त्र दिवस पालनको निम्ति सबैले तयारी सम्वन्धि ध्यान दिनु पर्ने आग्रह गरे। उक्त कार्यक्रमलाई भव्यरूपमा सफल तुल्याउनको निम्ति विभाग साथै अधिकारीहरूले आफ्नो जिम्मेवारी साथै भूमिका इमान्दारपूर्वक पालन गर्नुपर्ने विषयमा जोर दिए। उनले विभागका अधिकारीहरूलाई एक अर्कामा राम्रोसँग तालमेल राखेर कार्यक्रमलाई सफल तुल्याउनु पर्ने सुझाउ दिए। आगामी दिनमा पालन गरिने गणतन्त्र दिवस नाम्चीस्थित वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा पालन गरिने भएको छ। उक्त कार्यक्रममा नेहरू युवा केन्द्र, विभिन्न विद्यालयका विद्यार्थी साथै अधिकारीहरूले स्वंयसेवकको भूमिका निर्वाह गर्ने जानकारी गराए।