गान्तोक: सिक्किम फुटबल एसोसिएशन (एसएफए) अन्तर्गत प्रशिक्षण लिइरहेका चारजना रेफ्रीहरू आज काेलकत्ता प्रस्थान गरे। आगामी ९ जनवरीको दिन कलकत्तास्थित सल्ट लेकमा उनीहरूको फिजिकल फिटनेसको जाँच हुने भएको छ। यदि जाँचमा उतिर्ण भएको खण्डमा उनीहरूले राष्ट्रीयस्तरको रेफ्रीको दर्जा पाउने भएका छन्। आज काेलकत्ता प्रस्थान गर्नेहरूमा सुष्मिता राई, सुबास तामाङ, विवेक छेत्री र त्रिलोक राई सामेल रहेका छन्। यदि यी चारै जनाले काेलकत्तामा सम्पन्न हुने परीक्षा उतिर्ण गरेमा राज्यमा राष्ट्रीयस्तरको कूल ८ जना रेफ्री रहने एसएफएका अध्यक्ष मेन्ला इथेन्पाले जानकारी गराएका छन्। यसरी नै रेफ्रीको निम्ति गत चार दिनेदखि राजधानीस्थित पाल्जर स्टेडियममा शुरू भएको प्रशिक्षण कार्यक्रमको आज समापन भयो। यस चार दिवसीय प्रशिक्षणमा कूल ५२ जनाले सहभागिता जनाएको इथेन्पाले थप बताएका छन्। उनले जानकारी गराए अनुसार मनिपुरका रेफ्री प्रशिक्षक जयचन्द्र सिंहको अधिनस्थ उनीहरूलाई प्रशिक्षण प्रदान गरिएको हो। आज एक छोटो कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो। उनको भनाइ अनुसार राज्यमा निकट भविष्यमा धेरै रेफ्रीहरूको जन्म हुनेछन्। आज कलकत्ता प्रस्थान गर्ने चारै जनालाई एसएफएले शुभकामना दिँदै उज्जवल भविष्यको कामना गरेका छन्।