गान्तोक: सिक्किम पुलिसले ड्रग्सको धन्दाम लगाम लगाउने उद्देश्यले एक अभियान नै शुरू गरेको छ। तर यति हुँदा हुँदै पनि यसको धन्दामा कमी भने आउन नसकेको हालका केही घटनाहरूले प्रस्ट भएको छ। यसै क्रममा हिजो रम्फू पुलिसले ड्रग्स सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीद्वय लोक बहादुर छेत्री र समिर गुरूङकोरूपमा पुलिसले पहिचान गरेको छ। यी दुई आरोपी मध्ये लोक बहादुर छेत्री तादोङ ६ माइल निवासी हुन् भने समिर गुरूङ राउते रूम्तेक निवासी हुन्।
आरोपीबाट पुलिसले कूल ९८४ वटा विन्डलास् विन्सपास्मो फोर्ट, ३५ वटा निट्राजेपम र १.१० ग्राम ब्राउन सुगर फेला पारेको छ। पुलिसले आरोपीद्वय विरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ र एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।